काठमाडौं । सर्जक प्रकाश सपुतको ‘पीर’ नामक म्युजिक भिडियो हटाउन माओवादीसम्बद्ध ४ वटा संगठनले माग गरेका छन् ।
आइतबार राती प्रेस विज्ञप्ती जारी गर्दै माओवादी केन्द्रका चार जनवर्गीय संगठनले सपुतको म्यूजिक भिडियोको विषयवस्तुप्रति आपत्ति जनाँदै तत्काल हटाउन चेतावनी दिएका हुन् ।
दश बर्षे जनयुद्धमा जनमुक्ति सेनाहरुले गरेको योगदानप्रति अपमान गरेको ति संगठनको निष्कर्ष छ ।
‘‘हिजो जनताको न्यायपूर्ण विद्रोहलाई दवाएर सामन्तवादको रक्षामा तल्लीन प्रतिक्रियावादी राजनीतिक शक्तिहरु आजको संघीय लोकतान्त्रिक गणतन्त्रको हिमायती बन्न खोजेका छन्। उनीहरुको समेत उपहास हुने गरी निर्माण गरिएको म्यूजिक भिडियो प्रकाश सपुतको मात्र सिर्जना मान्न सकिदैन ।’
म्युजिक भिडियो सपतुको सिर्जना मात्रै मान्न नसकिने भन्दै विज्ञप्तीमा भनिएको छ,‘‘यसको पृष्ठभूमिमा प्रतिगामी तत्वहरुले वैचारिक र राजनीतिक रुपमा परिचालन र संरक्षण गर्न खोजिएको कुरा सजिलै अनुमान गर्न सकिन्छ।’
तत्काल युट्यसवबाट म्युजिक भिडियो हटाउन माग गर्दै विज्ञप्तिमा भनिएको छ, ‘उक्त म्यूजिक भिडियो युट्यूब च्यानलबाट तुरुन्त हटाई यस्ता निन्दनीय गतिविधि तुरुन्त बन्द गर्न र आम नेपाली जनतासामु सार्वजनिक रुपमा अपराध स्वीकार गरी माफी माग्नसमेत आग्रह गर्दछौं ।’
विज्ञप्तिमा जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा सङ्घका इन्चार्ज दिपेन्द्र कुमार पुन, अखिल नेपाल महिला संङ्घ (क्रान्तिकारी)का अध्यक्ष अमृता थापामगर, जनसांस्कृतिक महासङ्घ, नेपालका अध्यक्ष मातृका पोखरेल, प्रेस सेन्टर, नेपालका अध्यक्ष विष्णु सापकोटाले हस्ताक्षर गरेका छन् ।





