काठमाण्डाै । संसद्मा टेबल गरिएको एमसिसी अनुमोदन गर्ने लगायत विषयमा विचार–विमर्श गर्न गृहमन्त्री बालकृष्ण खाँणले आज बिहान सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन ।
गृहमन्त्री खाँणले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग उनकै निवास खुमलटार र एमाले अध्यक्ष ओलीसँग बालकोटमा पुगी भेट गरेका हुन । भेटका अवसरमा उहाँहरुबीच मुलुकको समसामयिक राजनीतिक परिस्थिति, प्रतिनिधिसभाको गतिरोध खुलाउने र एमसिसी अनुमोदन गर्नेलगायत विषयमा छलफल भएकाे बताइएको छ ।
प्रतिनिधिसभामा यही फागुन ८ गते एमसिसी प्रस्तुत भएपछि सत्तारूढ दल र प्रतिपक्षी दलहरुबीच त्यसलाई पारित गराउन घनिभूत छलफल भइरहेको छ । एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेभित्र संसद्बाट अनुमोदन गर्नुपर्ने समय निर्धारित छ । सरकारले सो अवधिभित्र अनुमोदनका लागि सबै राजनीतिक दलको सहमति जुटाउने प्रयास जारी राखेको छ ।




