काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी लक्ष्य हासिल गर्न र राष्ट्रिय भावनाको विकास गर्न समुदायको सचेततापूर्वक खबरदारी आवश्यक रहेको बताएका छन् ।
तामाङ समुदायको नयाँ वर्ष २८५८ एवं सोनाम ल्होछारको अवसरमा शुभकामना सन्देश दिँदै उनले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि राष्ट्रियता र देशभक्ति भावना जागृत गर्न सबै नेपालीमा आह्वान गरेका छन् ।
‘संविधानले सुनिश्चित गरेको समावेशीता र समानुपातिकतालाई मजबुत गरी समाजवादी लक्ष्य हासिल गर्न र राष्ट्रिय भावनाको विकास गर्न पनि समुदायको सचेततापूर्वक खबरदारी आवश्यक छ,’ उनले भनेका छन् ।
साथै प्रचण्डले परम्परागत र सांस्कृतिक महत्वका साथ तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्वले सबै नेपालीमा सुख, शान्ति र समृद्धि पथमा लम्किरहन प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।
विभिन्न चाडपर्वले नेपालीहरुमा आपसी हार्दिकता, सामाजिक सहिष्णुता, राष्ट्रिय अखण्डता र ऐक्यवद्धताको विकास गर्न सघाउ पुर्याएको उनले बताएका छन् ।
सोनाम ल्होछारको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका अन्य राजनीतिक दलले शुभकामना दिएका छन् ।




