राजनीति

२०३३ साल पुस १६ गते देशवासीका नाममा बीपीले जारी गर्नु भएको अपीलमा के छ ? [हेर्नुहाेस जस्ताकाे तस्तै]

राष्ट्रिय मेलमिलापको देशभक्तिपूर्ण उच्चतम नैतिक राजनीतिको नयाँ आयाम बीपीको जीवनपर्यन्तको यात्रा बन्नगयो । देशवासीहरूको नाउँमा उहाँले जारी गर्नुभएको यो आह्वान उहाँको जीवनीको परिचयात्मक सामग्री पनि भएकाले २०३३ साल पुष १६ गतेको यो पर्चाको पूर्ण व्यहोरा यहाँ प्रस्तुत गरिएको हो ।
देशवासीको नाउँमा अपील
लामो प्रवासकालपछि हामी स्वदेश फर्कदै छौं । यस अवसरमा एक दई शब्द देशवासीहरूको नाममा सम्बोधन गर्नु उचित ठान्दछु । हाम्रो देश आज सङ्कटमा छ । यता केही वर्षदेखि यो सङ्कट चर्किदै गएको कुरा सबैले महसुस गरेकै हो । यसले गर्दा राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको छ । यस तथ्यलाई अरूले पनि स्वीकारेका छन । महाराजाधिराज लगायत सबैले बखतबखतमा राष्ट्रिय अस्तित्वमाथि परेको खतराको चर्चा गरेका छन । यो गम्भीर वास्तविकतालाई बुझेर हामी स्वदेश फर्कदै छौं। हाम्रो विचारमा अस्तित्वको सङ्कट पर्नुको मुख्य कारण राष्ट्रियताको अभाव हो । यसले गर्दा हाम्रो देशमा विदेशी तत्त्व कचक चलाउन र नेपाललाई अन्तर्राष्ट्रिय षडयन्त्रको अखडा बनाउन सफल हुन थालेका छन । राष्ट्रिय एकता सम्पूर्ण जनताको सामूहिक प्रयासबाट हुने अभियान र कार्यले स्थापित हुन्छ । यस्तो सामूहिक अभियानले नेपाली जनताको भावनात्मक एकताको संस्थागत आधार पनि तयार पार्छ । कोरा नाराले मात्र हुने भए १६ वर्षमा राष्ट्रिय एकता यसरी छिन्नभिन्न भएर यस सोचनीय स्थितिमा देशले भोग्नु पर्ने थिएन । आज देशमा स्वार्थपरायणता, सम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलाबाला छ । यस्तो परिस्थितिमा सबभन्दा पहिलो हत्या राष्ट्रियताको हुन्छ ।


हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारको लागि मात्र थियो । त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौं । आज यसमा एउटा नयाँ आयाम थपिएको छ । नेपाली कांग्रेसलाई आज दोहोरो जिम्मेवारी आइपरेको छ । यो दोस्रो जिम्मेवारी हो–देशको अस्तित्वको रक्षा गर्ने । हामीले वर्तमान नेपालको परिस्थितिको दुईमुखे रूप देखेका छौं– राष्ट्रियता र प्रजातन्त्र ।


भन्नुको तात्पर्य के हो भने प्रजातन्त्रको प्राप्ति र राष्ट्रको रक्षा दुवै जिम्मेवारी नेपालीले लिनु परेको छ । यदि हामीले एउटै जिम्मेवारी मात्रको कुरा गयौं भने हामी एकपक्षीय भएर गलत बाटोतिर लागेका हुनेछौ र यदि हामीले प्रजातन्त्र प्राप्तिमा मात्र जोड दियौं भने राष्ट्रिय संकटको निवारणमा हाम्रो योगदान रहँदैन । त्यति मात्र हैन, यस्तो एकपक्षीय कार्यले हामी विदेशीहरूको चालमा पर्ने खण्डमा हुन्छौं । त्यस्तै यदि हामीले केवल राष्ट्रियताको मात्र चर्चा गयौं भने १६ वर्षको खोक्रो राष्ट्रियताको नाराबाजीमा लाग्छौं र अधिनायकवादीको पक्षधर हुन पुग्छौं । यस्तो खोक्रो राष्ट्रियताले राष्ट्रको रक्षा गर्ने आन्तरिक मनोबल देशवासीमा पैदा गर्न सक्दैन । त्यसो हुनाले हामीले यो कुरा बुझनु परेको छ कि राष्ट्रिय एकता प्रजातन्त्रको जगेर्नाबाट मात्र खडा हुनसक्छ र प्रजातन्त्रको जग देशको उत्तरोतर आर्थिक विकास र न्यायपूर्ण आर्थिक व्यवस्थामा मात्र बलियो हुनसक्छ । तसर्थ हाम्रो दृष्टिमा राष्ट्रियता, प्रजातन्त्र र विकास उन्नति एक अर्कामा आधारित तत्त्व हुन।


नेपाली कांग्रेसले आफ्ना जन्मकालदेखि नै बेला–बेलामा देशहितका लागि ऐतिहासिक र गंभीर निर्णय लिएको सबैलाई थाहा छ । २००७ सालमा क्रान्तिको निर्णय र त्यसको कार्यान्वयन । त्यसपछि आम चुनावलाई सदाको लागि स्थगित गर्ने बुझेर चुनाव गराउने राष्ट्रिय अभियानको नेतृत्व यसले लियो । त्यस आन्दोलनमा अरू धेरै दलहरूको पनि सहयोग हामीलाई प्राप्त भएको थियो । २०१७ सालमा प्रजातन्त्र उपरको निर्मम एवं सांघातिक प्रहारपछि नेपाली कांग्रेसले प्रजातन्त्रको पक्षमा संघर्ष(रेसिस्टेन्स मुभमेन्ट) गर्यो र आज देशउपरको खतरा बुझेर हामीले यो अर्को ऐतिहासिक निर्णय लिएका छौं । जुन निर्णय नेपाली कांग्रेसको परम्परा अनुरूप छ ।


प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउँछ जब यसका बासिन्दाले आफ्नो ज्यान समेत खतरामा हालेर यसको अस्तित्वको रक्षा गर्नुपर्छ । हामीलाई लाग्छ आज नेपालमा त्यो घडी आएको छ । हाम्रा शुभचिन्तकहरूले हाम्रो नेपाल फर्किने इरादामा निहित खतरालाई ध्यानमा राखेर नफर्कने सल्लाह दिएकोमा उनीहरूलाई हाम्रो यो भन्नु छ कि हामीमाथिको यो सम्भावित व्यक्तिगत खतरा राष्ट्रको अस्तित्वको खतराको सामू नगण्य भन्ठानेर नै ऐतिहासिक निर्णय हामीले लिएका हौं । नेपाली कांग्रेसका कार्यकर्ताहरूले पार्टी निर्देशनअनुसार देश फर्केर अपूर्व साहस, देशप्रेमका उदाहरण प्रस्तुत गरेका छन ।


यस राष्ट्रिय संकटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर र समाप्त गरेर एकताको सुत्रमा बाँधिनु पर्छ । राष्ट्र रहेन भने हामी रहन्नौं भन्ने भावनाले प्रेरित हाम्रो कार्यक्रम हुनपर्छ । मलाई थाहा छैन देशभित्र फर्केर गएपछि म कुन परिस्थितिमा हुनेछ । यस वक्तव्यद्वारा नेपाली कांग्रेसको अध्यक्षको हैसियतले सारा देशवासीलाई अपील गर्न चाहन्छु कि राष्ट्रको रक्षा, देशको उन्नति, जनताको सुख र समद्धिको पुनीत कार्यमा सबै एकमत भएर लागौं । मैले अवसर पाएको खण्डमा महाराजाधिराजसमक्ष पनि आफूलाई लागेका करा राख्नेछु । राष्ट्रलाई बचाउने जिम्मेवारी सबैको जिम्मेवारी हो ।
जय नेपाल !
२०३३ पुस १६
विश्वेश्वरप्रसाद कोइराला अध्यक्ष, नेपाली कांग्रेस

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *