रिबन

प्रधानमन्त्रीले बाेलाएकाे सर्वदलीय बैठक ४ बजे बस्दै, सहभागी नहुने एमालेको अडान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठक आज बस्दै छ । संसद्मा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठक आइतबार अपराह्न ४ बजे बस्ने छ । बैठकमा संसद्मा सहभागि सबै दलका शिर्ष नेताहरूलाई बोलाइएको छ । विगत लामो समयदेखि नेकपा (एमाले) ले अवरोध गर्दै आएकाले दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ ।

शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवासँगको भेटमा मुलुकको समसामयिक राजनीतिक विषय तथा संसद् अवरोधक खुलाउनलगायत विषयमा दलहरूबीच समान धारणा बनाउने उद्देश्यका साथ सर्वदलीय बैठक बोलाउन आग्रह गरेका थिए ।

यसैबीच नेकपा एमालेले सर्वदलीय बैठकमा सहभागी नहुने बताएकाे छ । प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल एमाले सहभागी नहुने भएको हाे । प्रधानन्त्रीले बैठकमा सहभागी हुन औपचारिक जानकारी गराए पनि आफूहरूको माग सम्बोधन नभएको भन्दै एमाले सहभागी नहुने एमालेका नेता शेरबहादुर तामाङले बताए । ‘समस्या समाधान गर्न सत्ता पक्ष र प्रतिपक्षबीच मात्र सहमतिको खाँचो छ, सर्वदलीय बैठक बोलाएर समस्याको समाधान हुँदैन । तामाङले भने, सत्ता पक्ष र प्रतिपक्षको बीचमा राष्ट्रिय महत्वको धेरै एजेन्डा रहेको छ, सभामुख र न्यायालयको विषयमा छलफल हुन जरुरी छ, कर्मकाण्डी र झारो टार्ने बैठकमा हामी सहभागी हुँदैनौं ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *