ताजा समाचार

नेकपा (माओवादी केन्द्र)काे देशैभर वडा सम्मेलन सम्पन्न

काठमाडों । नेकपा (माओवादी केन्द्र)ले देशैभर वडा सम्मेलन सम्पन्न गरेको छ । वडा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन भएका छन् । वडा सम्मेलन उत्साहजनकरूपमा सम्पन्न भएको माओवादीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । सम्मेलन सम्पन्न भएका वडाको तथ्याङ्क सङ्कलन भइरहेको र आज (आइतबार)सम्म त्यसको विवरण सार्वजनिक हुने उनले बताए ।

प्राविधिक कारणका कारण केही वडामा सम्मेलन हुन नसकेको र अाइतबारसम्म सबै वडामा नयाँ नेतृत्व चयन हुने उनले बताए। माओवादीले शनिबारका लागि देशरभका छ हजार ७४३ वडामा सम्मेलन आयोजना गरेको थियो ।

पछिल्ला समय साङ्गठनिक सुदृढीकरणमा जुटेको माओवादीले यही मङ्सिर ११ गते पालिका सम्मेलन गर्ने तयारी गरेको छ । यस्तै, यही मङ्सिर २५ गते प्रदेश सम्मेलन हुनेछ । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।

ललितपुरका ७१ वटै वडामा सर्वसम्मत नेतृत्व चयन

माओवादी केन्द्रले ललितपुरका ६ वटै स्थानीय तहका सबै वडामा नेतृत्व चयन गरेको छ । आज भएको वडा सम्मेलनले ७१ वटा वडामा नयाँ नेतृत्व चयन गरेको माओवादीका केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज हरि दाहालले जानकारी दिए।

सबै वडामा निर्विरोध रुपमा नेतृत्व चयन भएको उनले बताए । ललितपुरमा एक महानगर, दुई नगरपालिका र तीन गाउँपालिका छन् । ललितपुर महानगरपालिकामा २९, महालक्ष्मी नगरपालिकामा १०, गोदावरी नगरपालिकामा १४ वडा रहेका छन् । यस्तै, वाग्मती गाउँपालिकामा ७, कोन्ज्योसोम गाउँपालिकामा ५ र महाङ्काल गाउँपालिकामा ६ वटा वडा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *