काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले कैलालीसहितका जिल्लामा महाधिवेशन प्रतिनिधि पुनः चयन गर्न माग गरेका छन् ।
दशौं महाधिवेशन प्रतिनिधि चयनमा कैलाली लगायतका जिल्लामा बेथितिपूर्ण ढंगले चयन भएको भन्दै उनले रद्ध गरी अर्को प्रक्रिया शुरु गरेर चयन गर्न माग गरेका छन् ।
विज्ञप्ति जारी गर्दै उपाध्यक्ष पार्टी सदस्यता वितरण, नवीकरण तथा प्रतिनिधि चयनमा पार्टीको विधि, पद्धति र निर्णय विपरितका काम भएको भन्दै उनले भनेका छन्,‘विधि र पद्धतिको पूर्ण पालना गरी दशौं राष्ट्रिय महाधिवेशन स्वच्छ र निष्पक्ष किसिमले हुनुपर्छ भन्ने सबैको चाहना र पार्टीको आवश्यकता हो । तर यस्तो चाहना र आवश्यकता विपरित कतिपय स्थानमा पार्टी सदस्यता वितरण, नवीकरण तथा प्रतिनिधि चयनमा पार्टीको विधि, पद्धति र निर्णय विपरितका क्रियाकलाप भएका छन् ।’
पार्टीको बैठकमा समेत कैलाली लगायतका कतिपय जिल्लामा सदस्यता वितरण, नवीकरण र प्रतिनिधि चयनमा भइरहेको बेथितिबारे कुरा उठाएको उनले विज्ञप्तीमार्फत् भनेका छन् । बेथितिबारे अध्यक्ष केपी शर्मा ओलीलाई समेत जानकारी गराएको भएपनि कार्यान्वयन हुन नसकेको उनको भनाई छ ।
कैलाली जिल्लाको निर्वाचन क्षेत्र नम्बर २, लम्की चुहा नगरपालिकामा प्रतिनिधि चयनमा भएको चरम स्वेच्छाचारी कार्यलाई उदाहरणका रुपमा लिन सकिने उनले बताएका छन् ।
कैलालीमा भएको बेथितिविरुद्ध १ हजार २ सय बढि कार्यकर्ताहरुले हस्ताक्षर गरी पार्टीमा उजुरी गरेको भन्दै उनले त्यसको सुनुवाई गर्न समेत माग गरेका छन् । कैलालीमा एमालेको रावल पक्षले समानान्तर कमिटि समेत गठन गरेको छ ।
प्रेस वक्तव्य
मितिः २०७८।८।१
पार्टीमा उत्पन्न अन्तरविरोध र समस्याहरुको समाधान गर्न तथा पार्टीलाई विधि र पद्धतिसम्मत किसिमले चलाउँदै एकताबद्धरुपमा अगाडि बढ्नको लागि १०–बुँदे सहमति भई त्यसको कार्यान्वयनको लागि अन्तरपार्टी निर्देशन–१२ जारी भएको थियो । यही भावनाका साथ विधि र पद्धतिको पूर्ण पालना गरी दसौं राष्ट्रिय महाधिवेशन स्वच्छ र निष्पक्ष किसिमले हुनुपर्छ भन्ने सबैको चाहना र पार्टीको आवश्यकता हो । तर यस्तो चाहना र आवश्यकता विपरीत कतिपय स्थानमा पार्टी सदस्यता वितरण, नविकरण तथा प्रतिनिधि चयनमा पार्टीको विधि, पद्धति र निर्णय विपरीतका क्रियाकलाप भएका छन् ।
कैलाली लगायतका कतिपय जिल्लामा सदस्यता वितरण, नविकरण र प्रतिनिधि चयनमा भइरहेको बेथितिबारे मैले पार्टीका बैठकहरुमा कुरा उठाउनुका साथै पार्टी अध्यक्ष र संगठन विभाग प्रमुखलाई जानकारी गराई त्यस्ता क्रियाकलाप रोकी विधि र पद्धतिसम्मत किसिमले काम गर्न निर्देशन हुन मैले मात्र होइन अरुबाट पनि माग गरिएको थियो । तर त्यस्ता गतिविधि रोकिएको देखिएन । यसको ज्वलन्त उदाहरण कैलाली जिल्लाको निर्वाचन क्षेत्र नम्बर २, लम्की चुहा नगरपालिकामा प्रतिनिधि चयनमा भएको चरम स्वेच्छाचारी कार्यलाई लिनससकिन्छ ।
समयमै त्यहाँको वस्तुतथ्यबारे पार्टी अध्यक्ष र संगठन विभाग प्रमुखलाई लिखित र मौखिकरुपमा जानकारी गराउँदै विधिसम्मत् प्रतिनिधि चयनको काम हुन आग्रह गरिएको थियो । बिडम्बना, प्रतिनिधि चयनको कुनै विधिवत् प्रक्रिया बिना धनगढीबाट कथित प्रतिनिधिको नाम घोषणा गरिएको छ । यसका विरुद्ध उक्त क्षेत्रका १२०० बढी पार्टी सदस्यहरुले हस्ताक्षर गरी पार्टीमा उजुरी गरेका छन् । यसको पार्टी अध्यक्ष र संगठन विभागबाट सुनुवाई होस् र पार्टीको निर्णय–निर्देशन विपरीत कथित प्रतिनिधि चयन रद्द गरी विधिसम्मत् किसिमले प्रतिनिधिको चयन गरियोस् ।
२०७७ साल चैत मसान्तसम्म सदस्यता प्राप्त गरेका व्यक्तिहरुले मात्र प्रतिनिधि चुन्न र चुनिन पाउने, निर्वाचन कमिटीको गठन गरी निर्धारित प्रणाली अनुसार विधिवत् प्रतिनिधिको चयन गर्नुपर्ने स्पष्ट पार्टी निर्देशन विपरीत उम्मेदवारीको दरखास्त दिन नदिने, सहमति नै नभई, निर्वाचन नै नगरी बलजफ्ती प्रतिनिधिको नाम घोषणा गरिनु अवैध हो । यस्तो क्रियाकलापप्रति असन्तुष्टि र विरोध प्रकट हुने क्रममा विभिन्न ठाउँबाट पार्टीमा लिखित र मौखिक उजुरी पर्नुका साथै जिल्ला कमिटीका सदस्यले पदबाट राजीनामा दिनेसम्मको स्थिति देखिएकोे छ । पार्टीले फुटको सामना गरिरहेको बेला उक्त प्रकारका क्रियाकलाप हुनु अत्यन्त दुःखको कुरा हो र यसले पार्टीलाई गम्भीर क्षति पु¥याउँछ । अतः उक्त प्रकारका पार्टी निर्णय र विधि–पद्धति विपरीतका कार्यलाई बदर गरी दसौं महाधिवेशनको स्वच्छता, निष्पक्षता, गरिमा र विश्वसनीयताको रक्षा गर्न उच्च नेतृत्व एवम् सम्बन्धित सबैमा हार्दिक आग्रह गर्दछु ।
भीम रावल
उपाध्यक्ष, केन्द्रीय कमिटी
नेकपा (एमाले)




