काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशनका लागि आवश्यक हुने विभिन्न समिति गठन गरेको छ ।
आज बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले सभापति शेरबहादुर देउवाको नेतृत्वमा महाधिवेशन आयोजक मुल तयारी समिति गठन गरेको छ । सबै केन्द्रीय सदस्य पदेन सदस्य रहने गरी मूल आयोजक समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठकले सरकारका प्रवक्ता समेत रहेका कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा महाधिवेशनका लागि आर्थिक समिति गठन गर्ने निर्णय गरेको छ । त्यस्तै केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा भोजन तथा आवास व्यवस्थापन समिति, विदेशी पाहुनालाई स्वागत गर्ने समितिको संयोजकमा प्रकाशशरण महतलाई जिम्मा दिइएको छ ।
कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको नेतृत्वमा स्वास्थ्य समिति गठन गरेको कांग्रेसले प्रदेशसभा निर्वाचनका लागि समेत सयोजक र महाधिवेशन हुने स्थान तोकेको छ । मंसीर १६ गते हुने प्रदेशसभा अधिवेशनका लागि प्रदेश नम्बर एकमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई जिम्मा दिएको छ । प्रदेश नम्बर एकको अधिवेशन विरानगरमा हुनेछ ।
त्यस्तै प्रदेश नम्बर दुईमा रमेश रिजाल, बाग्मती प्रदेशमा प्रकाशमान सिंह गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनि प्रदेशमा बालकृष्ण खाँण कर्णाली प्रदेशमा जीवनबहादुर शाही र सुदुरपश्चिम प्रदेशमा दिलेन्द्रप्रसाद वडुलाई संयोजक तोकेको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रदेश नम्बर एकको अधिवेशन विराटनगरमा, दुई नम्बर प्रदेशको जनकपुरमा, बाग्मतीको हेटौंडा, गण्डकीको पोखरा, लुम्बिनिको बुटबल, कर्णालीको सुर्खेत र सुदुरपश्चिमको भने धनगढीमा अधिवेशन गर्ने निर्णय गरेको छ ।
आजको केन्द्रीय समितिको बैठकले केन्द्रीय निर्वाचन समितिले प्रस्ताव गरेको महाधिवेशनको कार्यतालिका अनुमोदन गर्ने प्रवक्ता शर्माले जानकारी दिए ।




