समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज : यस्ता छन एजेण्डा

काठमाडौं ।  सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले पार्टीको आसन्न १४औँ महाधिवेशनको कार्यतालिका अनुमोदन गर्नेछ । कांग्रेसको महाधिवेशन २४ देखि २६ मंसिरका लागि काठमाडौंमा तय भइसकेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाकोे निजी निवास बुढानिलकण्ठमा हिजाे बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा पार्टीको आसन्न १४औँ महाधिवशेनको तयारीका लागि विभिन्न समिति उपसमिति बनाउनेलगायत विषयमा छलफल भएको थियाे । आजकाे बैठकमा महाधिवेशनलाई भब्य र व्यवस्थित रुपमा सम्पन्न गर्न विभिन्न समिति उपसमिति बनाउने कांग्रेसकाे तयारी छ ।

आजको बैठकमा भातृ संस्थाबाट हुने प्रतिनिधित्व र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधित्वलगायत विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।

कांग्रेसको संशोधित कार्यतालिका अनुसार बाँकी रहेका गाउँ/नगर पालिका अधिवेशन कात्तिक ३०, प्रदेशसभा क्षेत्रीय अधिवेशन मङ्सिर ३, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक क्षेत्र मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मङ्सिर छ, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन मङ्सिर १० गते हुनेछ । यसैगरी प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गरिने कार्यतालिका छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको सहभागिता रहनेछ ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *