काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेको पाँच नेताले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर असन्तुष्टि पोखेका छन् । रामबहादुर थापा (बादल), प्रभु साह, टोपबहादुर रायमाझी, लेखराज भट्ट र गौरीशंकर चौधरीलगायतका नेताले बेग्लाबेग्लै भेट गरेका छन् ।
उनीहरुले भेटेर आ–आफ्नो असन्तुष्टि राखेर फर्किए । बागमति इन्चार्ज बनाइएका बादलले पालिका अधिवेशनका बारेमा असन्तुष्टि पोखे । सर्वसम्मतको नाममा आफ्ना कार्यकर्तालाई पाखा लगाएको असन्तुष्टि बादलले ओलीलाई सुनाए । विधान महाधिवेशन नै बहिष्कार गरेर ८ बुँदे माग प्रस्तुत गरेका प्रभु साहले चाहिँ एमालेबाट बहिर्गमनको धम्कीसहित असन्तुष्टि पोखेको बुझिएको छ । उनले आफूले प्रस्तुत गरेको ८ बुँदे मागलाई महत्व नदिएको भन्दै अध्यक्ष ओलीसमक्ष असन्तुष्टि पोखेका थिए ।
लेखराज भट्टले पूर्व सांसद गौरीशंकर चौधरीलाई लिएर अध्यक्ष ओली भेट्ने पुगेका थिए । सांसद पद त्यागेर एमालेमा बसेका चौधरीलाई कुनै जिम्मेवारी नदिएपछि सुदूरपश्चिमको तराई जिल्लामा एमालेलाई अप्ठ्यारो परेको विश्लेषण भट्टले अध्यक्ष ओलीलाई सुनाएका थिए ।
एमाले प्रवेश गरेपछि गुमनाम रहेका टोपबहादुर रायमाझी पनि पार्टीमा भूमिका खोज्दै अध्यक्ष ओलीलाई भेट्न पुगेका हुन् । कुनै जिम्मेवारी नपाउने हो भने जिल्लामा आफ्नो राजनीति ध्वस्त हुने उनको भनाइ थियो । यही अवस्था रहे पुनः माओवादीमै फर्किने संकेतसमेत उनले अध्यक्ष ओलीसँगको भेटमा गरेका थिए ।
तर अध्यक्ष ओलीले वडा र पालिका र जिल्ला अधिवेशनमा माओवादीबाट एमाले छिरेका नेताहरुको भूमिका हेरेर मात्र जिम्मेवारी दिने मनस्थिति बनाएको बुझिएको छ ।




