काठमाण्डौं । नेपाली कांग्रेसको महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म नहुने पक्कापक्कि भएको छ । स्थानीय तह देखि जिल्ला,प्रदेश हुदै केन्द्रिय महाधिवेशन गर्नुपर्ने भएपनि अझैसम्म स्थानीय तहकै अधिवेशन गर्न वाँकी रहेकोले कांग्रेसको केन्द्रिय महाधिवेशन मंसिरमा सम्पन्न गर्न निकै कठिनाइ हुने देखिएको छ । महाधिवेशनको आन्तरिक कार्यतालिका सम्पन्न गर्न कठिनाइ भएपछि पटक पटक फेरवदल भइसकेको छ । पछिल्लो कार्यतालिका अनुसार,कांग्रेसले क्षेत्रीय अधिवेशनसम्म गरिसकेको छ । तर,यसो गर्दा पनि प्रदेश नम्वर २ को ८ जिल्लामा सक्रिय सदस्य विवाद नै हल भएको छैन ।
यसपछिका कार्यतालिका कतै पुरा भएका छन त कतै वाँकी रहेका छन । हुनत महाधिवेशन सम्पन्न गर्न आन्तरिक विवाद हल गर्ने काम पनि जारी नै छ । तर,आन्तरिक कार्यतालिका प्रभावित हुने र दशैं तिहार र छठ जस्ता महत्वपुर्ण चाडपर्व निकट आउदै जानुले कांग्रेस महाधिवेशनका आन्तरिक तालिका प्रभावित हुने देखिएको छ ।
यसैकारण कांग्रेसले पछिल्लो पटक कार्यतालिका संशोधन गरेर असोज १८ गते एक वा बढी निर्वाचन क्षेत्र भएका जिल्ला अधिवेशन गर्ने भनेर तालिका राख्यो । यसपछि एकैपटक कार्तिक १० देखि १२ सम्म प्रदेश अधिवेशन गर्ने भनेर तालिका वनाइएको छ । तर जिल्ला र प्रदेश तहको महाधिवेशन वाकी रहेको र कैयौं जिल्लामा सक्रिय सदस्य विवाद समेत वाकी रहेकोले केन्द्रिय महाधिवेशन मंसिरको अन्तिम साता पुग्ने लक्षण देखा परेको छ ।
एकातिर विवादको हल नहुनु र अर्कोतिर चाडपर्वको मौसम प्रारम्भ हुनुले कांग्रेसलाइ महाधिवेशन समयमा गर्न कठिनाइ हुने देखिन थालेको छ । तर,मंसिर भन्दा पछि महाधिवेशन गर्न भने मौसमको कारणले कठिनाइ देखिन्छ ।




