रिबन

एमाले विधान अधिवेशनको दोस्रो दिन के के भयो ?

काठमाडौं । नेकपा एमालेको विधान अधिवेशनको दोस्रो दिन तीन वटा केन्द्रीय निकायका प्रतिवेदनहरु प्रस्तुत गरिएको छ ।

दोस्रो दिनको बैठकमा केन्द्रीय अनुशासन आयोग अध्यक्ष अमृतकुमार बोहोरा, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेल र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष केशव बडालले प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

शनिबारको बैठकमा शुक्रबार अध्यक्ष ओली, संगठन विभाग प्रमुख विष्णु पौडेल र महासचिव इश्वर पोखरेलले पेश गरेका प्रतिवेनमाथि भएको छलफलबारे ५ वटा समूह नेताहरुले प्रस्तुति गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।

कर्णाली प्रदेश कमिटीका तर्फबाट अध्यक्ष गोरखबहादुर बोगटीले विधानमा वरिष्ठ उपाध्यक्ष पद थपिनुपर्ने र पोलिटव्युरोलाई कायमै राख्नुपर्ने सुझाव दिएका छन् । उनले पार्टी विभाजनको असर कम गर्न काम गर्न समेत सुझाव दिएका छन् ।

केन्द्रीय निकाय तथा विभागका तर्फबाट भानुभक्त ढकालले समेत विधानमा वरिष्ठ उपाध्यक्ष, एक उपमहासचिव र सात सचिवसहितको पदाधिकारी राख्न सुझाव दिएका छन् । ७० वर्षे उमेरहद खारेज गर्न समेत केही प्रतिनिधिले माग गरेको उनले बैठकलाई जानकारी गराएका छन् । उनले प्रदेश कमिटी १ सय ५१ सदस्यमा सीमित गर्ने र पार्टीका सबै कमिटीमा ३३ प्रतिशत भन्दा बढी महिला सहभागिता गराउनुपर्ने सुझाव समेत पेश गरेका छन् ।

लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष लिला गिरीले निर्वाचन प्रणालीलाई कम खर्चिलो बनाउनुपर्ने, राजकीय पदमा बाहेक एक व्यक्ति, एक पदको नीति लागू गर्नुपर्ने, दुई कार्यकाल भन्दा बढी एउटै व्यक्ति पदाधिकारीमा बस्न नपाउने र जनप्रतिनिधिहरुले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने सुझाव राखेको भट्टराईले जानकारी दिएका छन् ।

त्यस्तै सुदूरपश्चिम प्रदेशबाट अध्यक्ष कर्णबहादुर थापाले विधानमा ७ जना उपाध्यक्ष, ३ उपमहासचिव र ७ जना सचिवको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् । पार्टीमा पोलिटव्युरो कायमै गर्नुपर्ने सुझाव दिँदै जनसंख्याको आधारमा पार्टीका सबै तहका कमिटीहरुमा दलितको प्रतिनिधित्व हुनुपर्ने र महिला सहभागितालाई पनि बढाउन समेत उनले सुझाव दिएका छन् ।

बागमती प्रदेशका तर्फबाट अध्यक्ष आनन्द पोखरेलले पार्टी र सरकारबीचको अन्तरविरोधका कारण अहिलेको अवस्था आएकाले भन्दै समिक्षा आवश्यक रहेको सुझाव दिएका छन् । एमसीसीको बारेमा समेत पार्टीको स्पष्ट धारणा आउनुपर्ने उनले सुझाव दिएका छन् । केन्द्रीय कमिटीमा वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, दुई उपमहासचिव र सात सचिवको व्यवस्था गर्न उनले सुझाव दिएका छन् ।

विधान अधिवेशनको अन्तिम दिन आइतबार बिहान आठ बजे फेरी बैठक शुरु हुने र बाँकी रहेका ५ वटा समूहका तर्फबाट सुझाव राखेर प्रतिवेदन पेश गरेका नेताहरुले जवाफ दिने कार्यक्रम रहेको छ । विधान महाधिवेशनले एमालेको केन्द्रीय निर्वाचन आयोग पनि गठन गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *