राजनीति

महरालाई अघि सार्दै प्रचण्ड, यस्तो छ रणनीति

काठमाडौं । यदि संसद् सचिवालयमा कार्यरत एक महिलासँग अन्तरंग सम्बन्ध जोडिएको घटना सार्वजनिक नभएको कृष्णबहादुर महराले अहिले माओवादी केन्द्रमा ठूलै वर्चश्व कायम गरिसकेका हुन्थे । सभामुख भएकै बेला महिलासँग बात लागेपछि उनको पद र प्रतिष्ठामात्र सकिएन, जेलसमेत पुगे ।

रोल्पा हुँदै दाङ झरेर माओवादी राजनीतिलाई अघि बढाएका महरा निकै चतुर खेलाडी हुन् । माओवादीबाट सबैभन्दा धेरैपटक मन्त्री बन्ने र अवसर पाउने नेतामा महरा पर्छन् । उनकै कारण अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा अघि बढेन । महराले खुल्ला रूपमै आफूले नै एमसीसीलाई अघि बढ्न नदिएको सार्वजनिक गरिसकेका छन् । त्यसैले यौनकाण्डमा मुछिएर जेलबाट छुटेका महरालाई माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विस्तारै पार्टीको सबै कमान सम्हाल्ने गरी महरालाई अघि सार्न थालेको खुमलटार स्रोतले जानकारी दिएको छ । नारायणकाजी श्रेष्ठले पछिल्लो समय आफूलाई असहयोग गरेको प्रचण्डको ठहर छ । त्यसले गर्दा पनि श्रेष्ठले पार्टी प्रवक्ताको जिम्मेवारी गुमाएका छन् । श्रेष्ठलाई पार्टीको नेतृत्व सुम्पिन प्रचण्ड कुनै पनि हालतमा तयार छैनन् । उनी अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुनमध्ये एकलाई अघि बढाउन चाहन्थे । तर, शर्मा र पुन दुवै समकालीन भएकाले एकले अर्कालाई स्वीकार्न नसक्ने बुझाई प्रचण्डको छ । त्यही भएर महरालाई अघि सार्दा शर्मा र पुनले विरोध गर्न नसक्ने निष्कर्ष खुमलटारको छ ।

केही दिनयता महरा पनि सार्वजनिक गतिविधिमा देखिन थालेका छन् । उनी पार्टीका कार्यक्रममा सहभागी हुने, आफ्ना पहिलेका च्यानललाई पुनः जोड्न खोजिरहेका छन् । महरा भविष्यमा माओवादी केन्द्रको नेतृत्वमा पुगे पनि कसैको विरोध नरहने निष्कर्षका साथ आगामी राष्ट्रिय सम्मेलनबाट उनलाई राम्रै भूमिका दिने तयारीमा प्रचण्ड रहेको स्रोतले बतायो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *