देश

अब वामदेव गौतम कता ?

काठमाडौं । केपी ओली र माधव नेपालबीच इगोको लडाइँ चलेका बेला वामदेव गौतम कहिले यता कहिले उता ढल्किने गर्थे । २०५४ सालमा एमाले विभाजन गरेर माले गठन गरेका गौतम अहिले भने मौन छन् । न ओली न नेपाल कतै खुलेका छैनन् ।

केही समयअघि वामदेव गौतमले माधव नेपालले पार्टी विभाजन गरी नयाँ पार्टी गठन गरे आफूले साथ दिने बताएका थिए । तर, अहिले उनी कतै देखिएका छैनन् । भलै उनकी पत्नी तुलसा थापा माधव नेपालको एमाले समाजवादीमा रहेकी छन् ।

गौतम अहिले एमाले उपाध्यक्ष पनि हुन् । तर, उनी ओलीले बोलाएको एमाले स्थायी समिति र केन्द्रीय कमिटी बैठकमा जान छाडेका छन् । त्यही भएर कतै गौतम माधव नेपालको एमाले समाजवादी पार्टीमा जान लागेका त होइनन् भन्ने अनुमान पनि गरिएको छ । तर, अहिलेसम्म सार्वजनिक रूपमा नबोलेकाले यसै भन्न सकिने अवस्था छैन ।

त्यसै पनि गौतम अस्थिर राजनीतिक चरित्र भएका नेता हुन् । उनी कहिले कता त कहिले कता गरिरहन्छन् । नेकपा हुँदा उनकै कारण ओली र प्रचण्डबीच फाटो उत्पन्न भएको थियो । आफूलाई सांसद नबनाएको भन्दै उनले ठूलै खेल खेले । नेकपा खारेज हुनुमा पनि गौतमकै भूमिका रहेको मानिन्छ । अब उनै गौतमले ओलीलाई साथ देलान् भन्ने धेरैलाई लागेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *