काठमाडौं । प्रधानमन्त्री केपी ओलीको शपथ ग्रहणको विषयलाई लिएर सर्वोच्च अदालतमा परेको रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा आफैँले हेर्ने भएका छन् ।
गत शुक्रवार शपथ ग्रहणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण नगरी प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भनेका थिए । जसलाई लिएर व्यापक आलोचना भएको थियो । ओलीले संविधानको धज्जी उडाएकाले पुनः शपथ लिनुपर्ने आवाज उठेको थियो ।
वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली र अधिवक्ताहरू लोकेन्द्र ओली, नवराज अधिकारी सन्तोष भण्डारी र राजकुमार सुवालले प्रधानमन्त्री ओलीले शपथको व्यहोरा उच्चारण नगर्नु गैरसंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । सो रिटमा सोमबार आजका लागि पेसी तोकिएको प्रधानन्यायाधीश जबरा आफैंले हेर्न लागेका हुन् ।
प्रधानन्यायाधीश जबरा प्रधानमन्त्री ओलीप्रति नरम व्यवहार राख्ने न्यायमूर्ति मानिन्छन् । संसद् कायम रहँदारहँदै पनि ओलीले अध्यादेश जारी गरी राखिएको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश आफैं उपस्थित भएका थिए । र, संवैधानिक नियुक्ति गरिएका थिए । त्यसैले आज प्रधानन्यायाधीश जबराले ओलीकै अनुकूलतामा आदेश दिनसक्ने अनुमान गरिएको छ ।




