एजेन्सी । हालसम्म १८ वर्षदेखि माथिका व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप दिँदै आइएको छ । कोरोनाको दोस्रो र तेस्रो लहरले बालबालिकालाई समेत संक्रमित बनाउन थालेपछि १२ देखि १५ वर्ष उमेर समूहकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छ ।
अमेरिकी खाद्य तथा औषधि नियामक एफडीएले १२ देखि १५ वर्ष उमेर समूहका व्यक्तिलाई पनि कोरोनाविरुद्धको खोप दिन अनुमति दिने भएको छ ।
अमेरिकी समाचार एजेन्सी सीएएनका अनुसार एफडीएले आउँदो हप्ता कोरोना भाइरसविरुद्धको फाइजर खोप १२ देखि १५ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीलाई लगाउन स्वीकृति दिने तयारी गरेको छ ।
१२ देखि १५ वर्ष उमेर समूहका २२ सय ६० जनामा गरेको परीक्षणमा शतप्रतिशत राम्रो नतिजा आएपछि अनुमति दिन लागेको खबरमा उल्लेख छ । यसअघिका कुनै पनि खोप १६ वर्षमुनिकालाई लगाउन अनुमति दिइएको छैन । फाइजरको खोप यसअघि १६ वर्षमाथिकालाई र अन्य खोप १८ वर्षमाथिका लागि अनुमति प्राप्त छन् ।
कोरोना भाइरसका पछिल्ला भेरियन्टहरुले बालबालिकामा सङ्क्रमण तथा मृत्युको दर बढाएपछि कम उमेरकालाई खोप दिनेबारेमा परीक्षणहरु भइरहेका छन् ।
फाइजर कम्पनीले आफ्नो खोप ६ महिनादेखि वर्षसम्मका बालबालिकाका लागि पनि परीक्षण भइरहेको र सम्भवतः सन् २०२२ सम्ममा १२ वर्षमुनिका बालबालिकालाई खोप तयार हुने फाइजर कम्पनीले जनाएको छ ।




