काठमाडौं । दोलखास्थित राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी आयोजनाको सुरुङमा पानी खसालिएको छ । सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले बिहीबार आयोजनाको सुरुङमा पानी खसाल्ने कामको शुभारम्भ गरेका हुन् ।
अबको केही दिनभित्रै प्रधानमन्त्री केपी ओली सो आयोजनाबाट उत्पादन हुने विद्युतको औपचारिक रुपमा उद्घाटन गर्ने उनले जानकारी दिएका छन् ।
४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिजुली भने अझै दुई सातापछि मात्रै उत्पादन हुने छ । तर, त्यसअघि नै प्रधानमन्त्रीले उद्घाटन गर्ने भएका छन् । आयोजनाबाट वर्षायाममा मात्रै ४५६ मेगावाट बिजुली उत्पादन हुनेछ । हिउँदमा भने ८० मेगावाट मात्रै उत्पादन हुने छ ।
आठ किलोमिटर लामो सुरुङमा पानी पठाइनेछ । आयोजनाको शुरुको अनुमानित लागत ३५ अर्ब २९ करोड थियो । अहिले त्यो बढेर दोब्बर भएको छ । निर्माण अवधिको ब्याजबाहेक अहिले ६९ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । तर, आयोजना स्रोतले परियोजना सम्पन्न हुँदा ८० अर्ब रुपैयाँ पुग्ने बतायो । त्यत्रो धेरै रकम खर्च गरेर बनाइएको तामाकोशीले ४५६ मेगावाट वर्षायाममा मात्र दिने छ । हिउँदमा हुने अघोषित लोडसेडिङ र भारतबाट खरिद गर्ने बिजुली भने यथावत रहने देखिएको छ ।





