काठमाडौं । शुक्रवार संक्रामक रोग विज्ञ डा. अनुप सुवेदीले शृंखलाबद्ध ट्वीट गर्दै ‘यसपटकको उभारमा कोभिड लागेर कोही सिकिस्त भएमा अघिल्लो उभारमा भन्दा उपचार गर्न बढी कठिन हुने, मृत्युदर बढी देखिने सम्भावना ठूलो रहेको’ जनाएका थिए। उनको सो ट्विटले हल्लीखल्ली मच्चियो ।
नेपालमा पछिल्ला केही दिनमा अस्पताल भर्ना भएका कोरोनाभाइरस सङ्क्रमितमा यसअघिका भन्दा फरक लक्षणहरू धेरै देखिएको अनुभव चिकित्सकहरूले सुनाएका छन्। उनीहरूले त्यो नयाँ भेरिअन्टको कोरोनाभाइरस व्यापक रूपमा फैलिएको सङ्केत हुनसक्ने भन्दै सचेत हुनुपर्ने बताएका छन्।
कोरोनाभाइरसको उपचार हुने काठमाण्डूको सरकारी अस्पताल शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल टेकुमा एकाएक गम्भीर बिरामीको चाप बढेको बताइन्छ। त्यहाँ १३ जना सघन उपचार कक्ष आईसीयूमै रहेको अस्पतालका प्रवक्ता तथा सङ्क्रामक रोग विज्ञ डा. अनुप बास्तोलाले बताएका छन्।
यसपटक आधाजसो बिरामीहरू कोभिडको निमोनियासहित आएका ५० वर्षमुनिका व्यक्तिहरू रहेको बास्तोला बताउँछन्।
उनी भन्छन्, ‘यसले दिने सङ्केत कि यूके भेरिअन्टले अर्कै तरिकाले काम गरिरहेको छ या त युवाहरूले धेरै हेलचेक्र्याइँ गर्दा यस्तो भएको हुनसक्छ।’
नेपालमा हालसम्म कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या झन्डै दुई लाख ८० हजार नजिक र मृत्यु हुनेको सङ्ख्या तीन हजार नाघिसकेको छ। चिकित्सकहरूले अहिलेको अवस्थालाई सङ्क्रमण दर ह्वात्तै उकालो लागेको गत भदौ असोजको समयसँग तुलना गरिरहेका छन्। बास्तोला भन्छन्, ‘भित्रभित्रै सङ्क्रमण व्यापक फैलिरहेको छ। त्यो जुनकुनै बेला फुट्न सक्छ।’
विज्ञहरूले कोरोनाभाइरसको नयाँ प्रकारको सङ्क्रमण निकै छिटो फैलने गरेको बताउने गरेका छन्। यति नै बेला विद्यालय समेत खुलेकाले अहिले त्यो बालबालिकामा समेत उल्लेख्य रूपमा देखा परेको चिकित्सकहरू बताउँछन्।
थकान भएका, टाउको दुखेका मानिसहरू र ज्वरो फर्किएकाजस्ता कुनै विशेष लक्षण नभएका मानिसहरूमा अस्पताल आएपछि परीक्षण गर्दा निमोनिया देखिन थालेको चिकित्सकहरूले बताएका छन्। ‘तर यही बेला परीक्षण कम भइरहेको छ। जसले हाम्रो अवस्थाको वास्तविक चित्र हामीलाई देखाइरहेको छैन,’ डा. बास्तोलाले भने ।
भारतमा कोरोनाभाइरसको दोस्रो लहर देखा परेको विवरण आएका छन्। त्यहाँ कोरोनाभाइरसका नयाँ प्रकार मात्र देखिएका छैनन् तिनमा दोहोरो उत्परिवर्तनसमेत भएको पाइएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोभिड संक्रमण जोखिम बढेको भन्दै हेलचेक्र्याई नगर्न जोड दिए । ‘भीडभाड नगरौं, भौतिक दूरी कायम गरी जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गरौं,’ उनले भने ।
जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले जोखिम बढेकाले सरकारले सीमानाकामा ‘फलामे’ कडाइ तथा हरेक आगन्तुकको परीक्षण गर्नुपर्ने माग गरेका छन् । कन्ट्रयाक्ट ट्रेसिङ छरितो, प्रभावकारी र संक्रमित स्थान पत्ता लगाएर आवागमन नियमन गर्न सरकार लाग्नुपर्ने उनको जोड छ ।




