काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीमाथि गम्भीर आरोप लगाएका छन् । आइतबार एक कार्यक्रममा प्रचण्डले प्रधानमन्त्रीलाई ‘वर्षौदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनी आलोचना गरेका थिए ।
प्रचण्डले कुनै देशको नाम नै नलिई ओलीलाई विदेशी एजेन्टको आरोप लगाएका थिए । ओलीले मदन भण्डारी फाउन्डेसनका नाममा भारतबाट करोडौं आर्थिक सहायता लिएर पार्टीमा राजनीति गतिविधि गरिरहेको उनकै पार्टीका नेताहरूले पनि भन्ने गरेका छन् ।
तर, प्रचण्ड जस्तो देशको दुई दुई पटक प्रधानमन्त्री भइसकेका व्यक्तिले केही अघिसम्म एउटै पार्टीको संयुक्त अध्यक्षलाई यसरी संगीन आरोप लगाएकोमा उनको आलोचना हुन थालेको छ ।
राप्रपा अध्यक्ष कमल थापाले सोमबार सामाजिक सञ्जालमार्फत प्रचण्डको द्वैध चरित्रको आलोचना गरेका हुन् । प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई गाली गर्दै फेरि सरकारकै समर्थन गर्नु लाजमर्दो भएको थापाले टिप्पणी गरेका छन् ।
उनले सोमबार सामाजिक सञ्जालमार्फत केही दिनअघिसम्म एउटै पार्टीमा रहेका प्रचण्डले देशका प्रधानमन्त्रीलाई वर्षौँदेखि विदेशीबाट पालितपोषित ‘एजेन्ट’ भन्दै आरोप लगाएको सुन्दा अचम्म लागेको बताए ।
दुईपटकसम्म प्रधानमन्त्री भइसकेका प्रचण्डले गम्भीर आरोप लगाउने अनि सरकारलाई दिएको समर्थन कायम राख्नु लाजमर्दो भएको भन्दै कटाक्ष गरे । उनले लेखेका छन्– ‘२पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केही दिनअघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्री केपी ओलीलाई ‘बर्षौदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनी आरोप लगाएको सुन्दा आश्चर्य लागेको छ। यस्तो गम्भीर आरोप लगाउने, तर सरकारलाई दिएको समर्थन कायम राख्ने ! लाजमर्दो राजनीति ।’
यस्तै, राजनीतिक विश्लेषक मुमाराम खनालले पनि प्रचण्डको अभिव्यक्तिको आलोचना गरेका छन् । उनले लेखेका छन्– ‘पटक पटक मुलुकको प्रधानमन्त्री भइसकेको व्यक्तिले हिजोसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशका प्रधानमन्त्रीलाई ‘वर्षौदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भन्न सक्छ। र, उसैले ‘नैतिकताको आधारमा ओलीले राजीनामा गर्नुपर्छ’ पनि भन्न सक्छ। नेताहरू त पाएकै हो नेपालले।’




