काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि कांग्रेसले एमाले माओवादी केन्द्र दुवै पक्षबाट प्रधानमन्त्रीको प्रस्ताव पाउने विश्लेषण गरिएको थियो। तर, त्यस्तो भएन । प्रतिनिधिसभा पुनःस्थापना भएको दुई साता बितिसक्दा पनि कांग्रेस सभापति शेरबहादुर देउवाले परिपक्व अवस्था नबनेको भन्दै हतार गरेका छैनन् ।
सत्ताको निम्ति सधैँ हतारो गर्ने भनि आलोचना खेप्ने गरेको कांग्रेस भने यतिबेला नयाँ सरकार गठनको निम्ति अग्रसरता लिएको देखिँदैन। यदि कांग्रेसले चाह्यो भने एकदिनमै प्रधानमन्त्री केपी ओलीको सरकार ढल्न सक्छ । जुन कुरा प्रधानमन्त्री ओलीले पनि स्वीकार गरेका छन् ।
सभापति देउवानिकट नेता रमेश लेखकका अनुसार सरकार बनाउन माओवादीले कांग्रेसलाई प्रस्ताव गरेको छ। ‘तर जसपाको समर्थनबिना सरकार बन्दैन,’ लेखकको विश्लेषण छ, ‘त्यसैले सरकार बनाउने भनेर हाम फालिहाल्ने अनि नबन्ने स्थिति भयो भने कांग्रेसका लागि राम्रो हुँदैन।’
कांग्रेसकै कतिपय नेताहरूले भने सभापति देउवाको मौनताका कारण ओली सरकारको आयु लम्बिएको बताउने गरेका छन्। तर नेता लेखकका भनाइमा नेपाली कांग्रेस आफ्नो नेतृत्वमा सरकार बन्ने सुनिश्चितताको पर्खाइमा छ। ‘अविश्वास प्रस्ताव अघि बढाउनुअघि सुनिश्चितता हेर्नुपर्ने हुन्छ, हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम कांग्रेसले गर्दैन,’ नेता लेखकले बीबीसीसँग भनेका छन् ।
कांग्रेसले आफूले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा जसपाले प्रधानमन्त्रीलाई साथ दिन सक्ने जोखिम देखेको पाइन्छ। तर ओली नेतृत्वको सरकारसँग निकटस्थ खेमा हाबी रहेको भनिएको दल जसपाका कतिपय नेताहरू आफूहरूले प्रधानमन्त्री ओलीलाई साथ दिने अर्को विकल्प पनि जोखिममुक्त नरहेको बताउँछन्।
विवाद बढ्दै गएर एमालेकै असन्तुष्ट समूह प्रधानमन्त्रीविरुद्ध लाग्ने अर्को सम्भावना रहेको उनीहरूको बुझाइ छ। विपक्षमा रहेका दलहरूका आ–आफ्नै खालका जोखिम र अविश्वासका कारण प्रधानमन्त्री ओलीको सत्तायात्रा भने लम्बिँदै गएको छ।




