काठमाडौं । कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्ने नबन्ने आजै छिनोफानो हुने भएको छ । आज कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा जसपाका शीर्ष नेताहरूसँग हुने छलफलले नयाँ सत्ता समीकरणको यात्रा तय गर्ने भएको छ ।
संसद्को चौथो ठूलो शक्ति जसपालाई लिएर अझै दुई वर्ष सरकार चलाउने दाउमा प्रधानमन्त्री केपी ओली छन् । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि ओलीले जसपाको सहारा लिन खोजेका हुन् । त्यसका लागि दुई तीन चरणमा जसपाल र एमाले कार्यदलको बैठक बसिसकेको छ ।
बिहीबार रातिको भेटवार्तामा प्रधानमन्त्री ओलीले नै मिलेर जान प्रस्ताव गरेपछि जसपा लचिलो भएको छ । तर, पनि जसपाले कांग्रेससँग एक चरणमा कुराकानी गर्न लागेको हो । यदि जसपा कांग्रेससँग मिलेर सरकार बनाउन सहमत भएमा प्रधानमन्त्री ओलीको बहिर्गमन निश्चित हुने छ ।
कांग्रेसको संस्थापनइतर पक्षले पनि पार्टी सभापति शेरबहादुर देउवालाई नयाँ सरकार गठनका लागि वार्ता प्रक्रिया अघि बढाउन आग्रह गरेपछि आज कांग्रेस र जसपाबीचको बैठक महत्वपूर्ण मानिएको छ । पार्टी महामन्त्री शशांक कोइराला निवासमा नेता रामचन्द्र पौडेल समूहको शुक्रबार बिहान बसेको भेलाले देउवालाई नयाँ सरकार गठन गर्न म्यान्डेट दिएको हो ।




