काठमाडौं । जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई अहिले त्यति हिँड्डुल गर्न सकेका छैनन् । पेटको ट्युमरको उपचार गराइरहेका उनी भारतको नयाँ दिल्लीबाट फर्केपछि झनै अस्वस्थ भए ।
प्रतिनिधिसभा बैठक आह्वान भएपछि अनिवार्य कोभिडविरुद्धको खोप लगाउनुपर्ने भएकाले उनले पनि लगाए । तर, उनी निकै विरामी भए । घरमै धेरै समय आराम गरिरहेका बाबुराम आफ्नै पार्टीको मिटिङमा समेत जान सकेका छैनन् ।
यही बेला प्रधानमन्त्री केपी ओलीको सरकार जोगाउन कसरत चलिरहेको छ । माओवादी केन्द्र र नेपाली कांग्रेसले साथ नदिने भएकाले ओलीले जसपासँग सत्ता सहकार्यको प्रस्ताव राखेका छन् । ओलीको योृ प्रस्तावले सबैभन्दा अप्ठेरो अवस्थामा बाबुराम पुगेका छन् । हिजोसम्म ओलीलाई एक मिनेट पनि सत्ताको कुर्सीमा बस्न दिनु हुन्न, सबैले मिलेर फाल्नुपर्छ भन्ने बाबुरामकै पार्टी जसपा ओलीको काँध थाप्न तयार भएपछि उनलाई नैतिक संकट आइपरहेको हो ।
यसैबीच, बाबुरामले आफ्नो पार्टी नयाँ सत्ता समीकरणको दौडमा नरहेको बताएका छन्। बिहीबार राति ट्वीट गर्दै भट्टराईले देश गम्भीर संकटमा फसेको बेला राजनीतिक दल र नेताहरुको भूमिका अपेक्षित स्तरको नभएको बताएका हुन् ।
‘अदालतको कृपाले अलिअलि लाज बचेको बेला पुनः उही म्युजिकल चेयरको खेलमा लाग्नु सट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त,’ भट्टराईले लेखेका छन्, ‘जसपा त्यो मुसा दौडमा छैन है।’
आफ्नै पार्टीका अन्य शीर्ष नेता सत्ता गठबन्धनका लागि दौडधूप गरिरहेका बेला भट्टराईले यस्तो असन्तुष्टि पोखेका हुन् । उनी बिहीबार बालुवाटारमा भएको जसपा र सरकारबीचको वार्तामा पनि सहभागी भएनन् । यदि जसपाको बहुमत ओली सरकारमा सामेल भएमा बाबुरामले पार्टी छाड्लान् कि ओलीको सरकार अझै दुई वर्ष टिकाउलान् ? सर्वत्र चासो देखिएको छ ।




