काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने संकेत गरेका छन् । केही समयअघि शान्तिपूर्ण मूलधारको राजनीतिमा आएका विप्लवले पार्टी निकट मिडिया इरातोखबरसँगको अन्तर्वार्ताका क्रममा त्यस्तो संकेत गरेका हुन् ।
विप्लवले सरकारमा जाने र पार्टी एकता हुने विषय हुँदै नहुने भन्ने नभएको बताएका छन् । तर, उनले आफूहरुको प्राथमिकता भने सरकारसँग भएको तीन बुँदे सहमतिकै विषय रहेको बताए ।
‘पार्टीका कुरा सरकारका कुरा हुँदै नभएको विषय ल्याइएको छ,’ विप्लवले भनेका छन्, ‘हुँदै हुन्न भन्ने विषय होइन भोलि जे पनि हुनसक्छ ।’ उनले आफूहरुको उद्देश्य नेपालको कम्युनिस्ट आन्दोलनलाई एक ठाउँमा ल्याउने रहेको बताउँदै प्रधानमन्त्री केपी ओलीलाई साथ दिन सकिने पनि बताए ।
विप्लवले जनमतसंग्रहमा जोड दिए । देशमा एकपटक जनतालाई व्यवस्था रोज्ने अधिकार दिनुपर्नेमा जोड दिए । ‘जनचाहना आमूल परिवर्तन छ,’ विप्लवले भने, ‘जनतामा परीक्षण गरेर संसदीय व्यवस्था कि जनताको वैज्ञानिक समाजवाद भन्ने टुंगो लगाउनुपर्छ । यही व्यवस्था मान होइन भने दमन गर्छु भन्न पाइन्छ ?’
तर, विप्लवलाई कसरी सरकारमा सामेल गराउने भन्ने विषय भने अलि जटिल छ । अहिलेको संविधानअनुसार सांसद नभएको व्यक्तिलाई ६ महिनाभित्र संघीय संसद्को सांसद निर्वाचित हुनै पर्ने बाध्यकारी व्यवस्था गरेको छ । तत्कालीन माओवादी शान्तिपूर्ण राजनीतिमा आउँदा अन्तरिम व्यवस्थापिकामा ८३ सिट पाउँदा पनि विप्लव सांसद बनेका थिएनन् । तर, अहिले उनी पूरै परिवर्तन भएर सरकारमा सामेल हुन सकिन्छ भनेर बताउन थाल्नुले विप्लवको सोचमा परिवर्तन आएको मानिएको छ ।




