रिबन

जसपाले ओली सरकारलाई दिएको समर्थन पहिल्यै फिर्ता लिएको हो, फेरि समर्थन गर्न नैतिकताले देला ?

काठमाडौं । राजनीतिमा असम्भव नहुने भन्ने हुन्न । मानिसहरूले जे सोचेका हुँदैनन् त्यही चाहिँ नेपालको राजनीतिमा भइरहेको छ ।

प्रधानमन्त्री केपी ओलीले २०७४ फागुन ३ गते सपथ लिए । राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्र र तत्कालीन राजपाको समर्थनमा ओलीलाई संयुक्त सरकारको प्रधानमन्त्रीको रूपमा नियुक्त गरेकी थिइन् ।

यो तीन वर्षमा ओली संयुक्त सरकार, एकल सरकार हुँदै अहिले फेरि संयुक्त सरकारको अवस्थामा आइपुगेका छन् । तत्कालीन राजपाले ओली सरकारलाई समर्थन गरे पनि सरकारमा भने सामेल भएन । तर, तत्कालीन उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी नेपाल भने ओली सरकारमै सामेल भयो । यादव उपप्रधानमन्त्री बनाइए ।

राजपाले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उपेन्द्र सरकारमा इन्ट्री भएका थिए । केही समयपछि ओलीले उपेन्द्र यादवलाई सोध्दै नसोधी मन्त्रालय नै सरुवा गरिदिए । उनकै पार्टीका अर्का मन्त्री डा.सुरेन्द्र यादवको त मन्त्रालय नै खोसिदिए । पछि बेइज्जतपूर्ण ढंगले उपेन्द्र ओली सरकारबाट बाहिरिए ।

अहिले तिनै राजपा र संघीय समाजवादी पार्टी मिलेर जसपा बनेको छ । जसपालाई सरकारमा ल्याउन ओलीले निकै ठूलो ताकत प्रयोग गरेका छन् । स्रोतका अनुसार भारतीय लाइनले कुरा मिलाइरहेको छ । तर, जसपा सरकारमा जाला वा समर्थन देला त भन्ने चासो चौतर्फी देखिएको छ ।

जसपा नेता राजेन्द्र महतोले आफ्ना माग पूरा गर्नहरुप्रति आफूहरुको सहानुभूति हुने बताएका छन्। बुधबार संसद भवनबाट बाहिरिँदै गर्दा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी ओलीलाई आफ्नो दलले पहले पनि समर्थन गरेको र ठग्नेबाहेक अरु काम नभएको बताए। उनले आफ्ना माग पूरा नभएसम्म सरकारमा नजाने बताए। उनले उधारो सहमति आफूहरुलाई मान्य नहुने बताए।

‘केपी ओलीको सरकारलाई पहिल्यै समर्थन गरेको होइन, फेरि गर्ने ? त्यसैका लागि जन्मेको हो हामी ?’, महतोले भने, ‘शासकहरुलाई सित्तैमा समर्थन गर्न जन्मेको हो हामी ?’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *