काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले राजादेखि विप्लव सबै पक्षको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गर्न प्रस्ताव गरेका छन् ।
सरकारले मंगलबार प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेसँगै राप्रपा अध्यक्ष थापाले नयाँ प्रस्ताव गरेका हुन् । सामाजिक सञ्जालमार्फत थापाले विप्लव नेकपासँग वार्ता हुनु सकारात्मक भएको टिप्पणी गरेका छन् ।
उनले कसैलाई पनि निषेध नगरी सबै पक्ष अटाउने राजनीतिक प्रणालीको निर्माण गर्न पनि जोड दिएका छन् । जुन राजनीतिक प्रणालीमा राजादेखि विप्लवसम्म र राष्ट्रिय राजनीतिमा क्रियाशील सबै दलको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गर्न उनले प्रस्ताव गरेका छन् ।
थापाले लेखेका छन्– नेकपा (माओवादी) विप्लव समूहसँग वार्ता हुनु सकारात्मक हो। यदि साँच्चै देश र जनताको हितमा काम गर्ने हो भने कसैलाई निषेध नगरी सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्न राजादेखि विप्लवसम्म र राष्ट्रिय राजनीतिमा क्रियाशील सबै दल र पक्षहरूको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गरौँ ।’
प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा भंग गरेपछि राजावादीसहित राप्रपाका नेता कार्यकर्ता औधि खुसी देखिन्थे । संसदको रिक्ततामा खेल्न पाइने उनीहरूको दाउ थियो । त्यसैले राप्रपा, राजावादीले ओलीको कदमको खुलेर समर्थन गरेका थिए । तर, फागुन ११ गते जब सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरिदियो, कमल थापालगायत राजावादीहरूको ओठतालु सुकेको छ ।
पुस ५ गतेअघिसम्म राजावादीहरू हिन्दु राष्ट्र पुनःस्थापनाको मागसहित दिनहुँ प्रदर्शन र जुलुस सडकमा निस्किने गरेका थिए । संसद् भंगपछि राजावादी र राप्रपा मौन बसेको थियो ।




