रिबन

संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयक नयाँ स्वरुपमा ब्युँताउन लागेकोमा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई सरकारले नयाँ स्वरुपमा ब्युँताउन लागेकोमा आपत्ति प्रकट गरेको छ । कांग्रेसले सरकारले ‘सामाजिक सञ्जाल व्यवस्थापन’ का नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न लागेको भन्दै युवाहरुलाई सचेत हुन अपिल गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार बिहान विज्ञप्ति जारी गरी यस्तो अपिल गरेका हुन् । ‘‘सरकारले व्यापक विरोधका बाबजुद् सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युँताउन लागेकोमा नेपाली कांग्रेस गम्भीर आपत्ति प्रकट गर्दछ ।’

सामाजिक सञ्जाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमति नरहने भए पनि विद्यमान कानुनभित्रै आवश्यक प्रावधान रहेको र त्यसैबाट नियमन हुन सक्ने शर्माको भनाइ छ । ‘थप व्यवस्था आवश्यक छ भने पनि बृहत्तर विमर्शबेगर, संसद् विघटन भएको समयमा निर्देशिकामार्फत जारी गर्नतर्फ लाग्नुले सरकारको नियतमाथि गम्भीर प्रश्न उब्जिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्ने गरी कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरु जारी गर्न हुँदैन, मिल्दैन र पाइँदैन ।’

कांग्रेसले प्रस्तावित निर्देशिकाको प्रक्रिया अघि नबढाउन सरकारलाई चेतावनी दिँदै त्यो विषय आजको देशव्यापी प्रदर्शनमा समेत उठाउने बताएको छ । ‘सामाजिक सन्जालमा व्यक्त मतलाई सरकारी आवेगले कार्बाहीको दायरामा बाँध्ने तयारी अधिनायकवादतर्फको एक अर्को फड्कोको तयारी हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यसविरुद्ध समयमै सजग बन्न अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैलाई आग्रह गर्दै नेपाली कांग्रेस सन्जाल प्रयोगकर्ता युवापुस्तालाई विशेष जागरुकताका लागि आह्वानसमेत गर्दछ ।’

सरकारले नेपालमा खुलेका सामाजिक सञ्जालबाट अपराध बढेको, व्यक्तिको चरित्रहत्या भएको भन्दै फेसबुक, ट्विटर, भाइबर, ह्वाट्सएप, मेसेन्जरलगायतका सामाजिक सञ्जाल सञ्चालकले नेपालमै कार्यालय खोलेर दर्ता गर्नुपर्ने गरी मस्यौदा तयार गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *