काठमाडौं । सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी र पछुवा गाडी फिर्ता गर्न थालेको छ । अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि, २०७७ अनुसार मापदण्डविपरीतका पछुवा गाडी र सुरक्षाकर्मी फिर्ता गर्न थालिएको हो ।
गृह मन्त्रालयका अनुसार हालसम्म सार्वजनिक पदाधिकारीहरूको सुरक्षामा खटिएका प्रहरी र सशस्त्रका १३ वटा पछुवा गाडी र दुई सय सुरक्षाकर्मी फिर्ता गरेको छ । सुरक्षाकर्मी फिर्ता हुनेमा पूर्वराजा ज्ञानेन्द्र शाह तथा राजपरिवारका सदस्य, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल, नेताहरु रामचन्द्र पौडेल, वामदेव गौतम, कमल थापा, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, शक्ति बस्नेत, कृष्णबहादुर महरा, भीम रावल, गोपालमान श्रेष्ठ र प्रकाशमान सिंहलगायत छन् ।
उनीहरुका सुरक्षामा खटिएका प्रहरी र सशस्त्रका अंगरक्षक, पछुवा सुरक्षा, निवास सुरक्षा, चालक र भान्से छन् । पूर्वगृहमन्त्री जनार्दन शर्माका सुरक्षाकर्मी, गृहमन्त्रीको सचिवालय, गृह मन्त्रालयका खटिएका सुरक्षाकर्मी, गृहका कर्मचारीको गाडी चलाउनेलगायत फिर्ता हुन बाँकी छ ।
पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, बाबुराम भट्टराई, झलनाथ खनाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको सुरक्षामा कार्यविधिमा उल्लेखित १६ जनाभन्दा कम जनशक्ति खटिएकाले फिर्ता गर्नु नपरेको गृह मन्त्रालयले जनाएको छ ।
कार्यविधिअनुसार अब पूर्वराजा तथा पूर्वप्रधानमन्त्रीको सुरक्षामा १६ जना मात्र खटाइनेछ । यस्तै, पूर्वउपराष्ट्रपतिको सुरक्षामा ११ जना, पूर्वप्रधानन्यायाधीशलाई अवकाश पाएको पाँच वर्षसम्म ६ जना खटाइने कार्यविधिमा उल्लेख छ ।




