काठमाडौं । वैशाखमा निर्वाचन भएन भने के हुन्छ ? माघ महिना सकिनै लाग्दा सबैतिर यो प्रश्न जोडतोडले उठ्न थालेको छ ।
संविधानमा प्रतिनिधिसभा विघटन भएको ६ महिनाभित्र नयाँ संसद् स्थापना हुनुपर्ने उल्लेख छ । यस आधारमा आगामी असारसम्म निर्वाचन भइसक्नुपर्ने हुन्छ । पुस ५ गते प्रतिनिधिसभा विघटन भएकाले असारसम्म ६ महिना हुन्छ । तर, जब वैशाखमा निर्धारण गरिएको को मिति घर्किन्छ, ओली सरकारले निर्वाचनको मिति मंसिरमा तोक्ने निश्चित छ । यसकै लागि ओलीले जानीबुझिकन संसद् विघटन गरेका हुन् । तर, विपक्षी दल, नागरिक समाजका आन्दोलनले ओलीलाई कुर्सीमा राखिरहन्छ कि फाल्छ ? यसै भन्न सकिने अवस्था छैन ।
नेकपाको आधिकारिकताको विषयमा निर्वाचन आयोगले छानबिन गरिरहेको छ । अहिलेकै अवस्थामा प्रक्रिया अघि बढाउँदा ४५ दिनसम्म लाग्ने निर्वाचन आयोगकै पदाधिकारी बताउँछन् ।
प्रधानमन्त्री ओलीले संसद् भंग गरेर वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति निर्धारण गरेका छन् । तर, उनकै पार्टीको कुन हो भन्ने खुल्न अझै डेढ महिना लाग्छ । तर, प्रधानमन्त्री ओलीदेखि उनका मन्त्री र निकटस्थ नेताले पनि वैशाखमा निर्वाचन हुन्छ भन्न छाडेका छैनन् ।
नेकपा आधिकारिकता विवाद तत्काल टुंगिने अवस्था नदेखिनु, राजनीतिक दलका आन्दोलन झन् झन् कडा बन्दै गएपछि सर्वोच्च अदालतमै वैशाखमा निर्वाचन हुन्छ ? भनेर प्रश्न उठिसकेको छ । आइतबारको सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नै ओलीका वकिललाई ‘वैशाखमा निर्वाचन हुन्छ’ भनेर सोधेका थिए । प्रधानन्यायाधीश जबराको यो प्रश्नले धेरै अर्थ राख्ने विश्लेषण गर्न थालिएको छ । उनले माघ ३० गतेसम्म सरकारी वकिललाई आफ्नो बहस सक्न निर्देशन दिइसकेका छन् ।
त्यसैले फागुन दोस्रो सातासम्म अदालतले आफ्नो फैसला सुनाउन सक्ने देखिन्छ । किनभने अबको १५ दिनभित्र नेकपाको कुन समूह आधिकारिक भन्ने पनि क्लियर हुने छ । तर, नेकपाको विवाद टुंगो लागे पनि वैशाखमा निर्वाचन हुने कुनै सम्भावना छैन । सर्वोच्च अदालतमा सरकारी वकिलहरू निरीह भएर प्रस्तुत हुँदा अहिले प्रतिनिधिसभा पुनःस्थापना हुन्छ कि भन्नेको संख्या बढ्दै जान थालेको छ ।
ओली पक्षले अहिले एउटा नयाँ भ्रम फैलाउन थालेको छ । त्यो हो, संसद् विघटन बदर हुन्छ । संसदमा प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव फेस गर्छन्, ओलीले विश्वासको मत गुमाउँछन् । त्यसपछि फेरि प्रतिनिधिसभा विघटन गरिदिन्छन् । तर, संसद् पुनःस्थापना भइसकेपछिका खेल भने अर्कै ढंगले बढ्ने अनुमानगरिएको छ ।




