रिबन

ओलीको ‘सम्राट’ बन्ने सपना

काठमाडौं । प्रधानमन्त्री केपी ओलीमा सत्ताको तिर्खा निकै देखिएको छ । जनताबाट झन्डै दुई तिहाइ बहुमत पाएर प्रधानमन्त्री बनेपछि ओली अहिले बालुवाटारबाट नारायणहिटीतिर नजर लाउन थालेका छन् । त्यसैले आज उनले नारायणहिटीको पटांगिनीमै मञ्च बनाएर भाषण गर्दैछन् ।

यतिबेला ओली नेकपाले नारायणहिटी अगाडि बनाएको भाषण गर्ने मञ्च र दरबारमार्ग दायाँबायाँ राखिएका ओलीको तस्बिर र फ्लेक्सबारे सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ । धेरैले ओलीको ‘सम्राट’ बन्ने सपना भन्दै आलोचना गरेका छन् ।

दरबारमार्गमा विगतमा राजाको सवारी हुँदासमेत डिभाईडर हटाएर सडक पखालेको, फोटो कटिङ गरेर पोलमा झुण्ड्याएको र स्क्रिन सेट गरेको देखिएको थिएन। तर, अहिले राजा–महाराजाकै शैलीमा ओलीको तस्बिर राखिएको छ ।

प्रधानमन्त्री ओली सिंहदरबार नछिरेको एक वर्ष पुग्‍न खोज्दैछ । सिंहदरबारले पनि ओलीको अनुहार बिर्सिसकेको हुनुपर्छ । तर, उनी पार्टीकै भेलाका निम्ति दौडाहा र उद्घाटनमा निकै व्यस्त देखिन्छन् । सिंहदरबारकै बाटो भएर ओहोरदोहोर गर्छन् । तर, भित्र पस्दैनन् ।

ओलीका मन्त्रीहरू सरकारको कामभन्दा अहिले पार्टीको प्रचार प्रसार र विपक्षीविरुद्ध गालीगलौजमा व्यस्त हुन थालेका छन् । विकास र सुशासन भन्ने कुरा धेरै टाढाको भइसकेको जनताले अनुभूति गर्न थालेका छन् ।

पछिल्लो समय ओलीमा देखिएको धर्म आशक्तिले उनी हिन्दु सम्राट बन्न त खोजेका छैनन् ? भन्ने धेरैको चासो छ । आज नारायणहिटी पटांगिनीमा ओलीले गर्ने भाषण पनि त्यस्तै हुने धेरैको बुझाई छ । उनले आफूले विगतमा राजा–महाराजाको भन्दा के कमी हुन दिएको थियो र ! भन्ने शैलीमा भाषण गर्न सक्ने अनुमान पनि गरेका छन् ।

क्युबा, उत्तर कोरियामा पनि कम्युनिस्ट पार्टीकै नेता तानाशाह बनेका छन् । अहिले ओलीको रूप त्यस्तै देखिन थालेको सर्वसाधारणको ठम्याइँ छ । ओलीले आफ्ना गुट र आफन्तको बाहेक जनताको कुरा सुन्न छाडेका छन् । आफूले जे भन्यो त्यही सबैले मान्नुपर्ने भन्दै उनले तानाशाहीको झल्को देखाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *