काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संसदीय सुनुवाइ नभइ विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरुको शपथ ग्रहणले प्रधानमन्त्रीको ‘म नै संविधान हुँ’ भन्ने दम्भ उजागर भएको बताएका छन् ।
संवैधानिक आयोगहरूमा असंवैधानिक रुपमा नियुक्ति गरिएकोमा उनले आपत्ति जनाउँदै प्रधानमन्त्री केपी ओलीले संविधानको खिल्ली उडाएको जनाएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत नेता सिंहले ओलीको कटु आलोचना गरेका हुन् । ओलीको मनपरितन्त्रका कारण देश संकटमा परेको उल्लेख गर्दै उनले अब पनि सचेत नहुने हो भने देश गम्भीर संवैधानिक र राजनीतिक दुर्घटनामा पर्ने निश्चित रहेको उल्लेख गरेका छन् ।
अनावश्यक नियुक्ति र राज्यस्रोतको दुरूपयोग गर्दै ज्ञानेन्द्र शैलीमा गरिएका सभासम्मेलन देशलाई अस्थिरतातर्फ धकेल्न उद्दत देखिने सिंहको भनाइ छ ।
नेता सिंहले लेखेका छन्–
असंवैधानिक रूपमा संवैधानिक आयोगहरूमा गरिएको नियुक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ । संसदीय सुनुवाइ समिति नै नभएका बेला संविधानको खिल्ली उडाउँदै गरिएको नियुक्तिले प्रधानमन्त्रीमा अन्तरनिहित ‘म नै संविधान हूँ’ भन्ने दम्भ उजागर भएको छ । संवैधानिक परिषदको अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओलीसहितको (कोरम नपुगेको) बैठकले गरेको सिफारिस नै असंवैधानिक थियो । त्यसैले आज गराइएको सपथ असंवैधानिक सिफारिसलाई मान्यता दिनका लागि गरिएको अर्को असंवैधानिक कदम हो ।
संविधानलाई मिचेर अघि बढ्ने सरकारको अधिनायकवादी आकांक्षाको जति निन्दा गरे पनि कम हुन्छ । ७ दशक लामो संघर्ष र ठूलो बलिदानीबाट प्राप्त उपलब्धिका रूपमा रहेको संविधान सरकार र सरकारमा रहनेहरूको असंवैधानिक कार्य र मनपरितन्त्रका कारण संकटमा परेको छ । अब पनि सचेत नहुने हो भने देश गम्भीर संवैधानिक र राजनीतिक दुर्घटनामा पर्ने निश्चित छ ।
सरकारले संविधान मिचेर गरिरहेको असंवैधानिक सफारिस, नियुक्ति, विचौलियाहरूलाई नियम मिचेर दिइएका ठेक्कापट्टा र राज्यस्रोतको दोहनले सीमा नाघिसकेको छ । अनावश्यक नियुक्ति र राज्यस्रोतको दुरूपयोग गर्दै ज्ञानेन्द्र शैलीमा गरिएका सभासम्मेलन देशलाई अस्थिरतातर्फ धकेल्न उद्दत देखिन्छ । संविधानको रक्षा गर्न र राज्यको ढुकुटीमाथिको ब्रह्मलुट रोक्नमा लागि सबैलाई सचेत र जागरुक रहन अपिल गर्न चाहन्छु ।




