काठमाडौं । आज सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुवै समूहको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षको बैठक बिहान ११ बजे बबरमहलस्थित एक ब्यांक्वेटमा बस्ने भएको छ । बैठकले संसद विघटनविरुद्ध विरोधका कार्यक्रम घोषणा गर्ने जनाइ्रएको छ ।
यसभन्दा अगाडि गत मंगलबार बसेको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई पदबाट हटाउँदै वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाउने निर्णय भएको थियो । मंगलवारकै बैठकमा तोकिएका नौवटा एजेण्डामध्ये बाँकी रहेका एजेण्डामा आज छलफल गरेर निस्कर्षमा पुग्ने उच्च स्रोतले जनाएको छ ।
बहुमत केन्द्रीय सदस्य आफूतिर रहेको दाबी गर्दै आएको प्रचण्ड–नेपाल समूहले संसद पुनस्र्थापनाका लागि सडक आन्दोलनमा समेत उत्रने बताइरहेको छ । पार्टीको संगठनात्मक कार्ययोजनाका विषयमा पनि केन्द्रीय समिति बैठकमा छलफल हुने बुझिएको छ ।
बुधबार संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई दलको नेताबाट समेत हटाउँदै प्रचण्डलाई नै दलको नेता बनाउने निर्णय गरेको थियो । संसदीय दलको नेता चयन भएपछि प्रचण्डले संसद पुनःस्थापना गरी नयाँ सरकार बनाउने आफूले पहल थाल्ने बताएका थिए ।
यता प्रधानमन्त्री ओली समूहको केन्द्रीय कमिटी पनि आज नै बस्ने भएको छ । ओली पक्षको बैठक दिउँसो १ बजे बालुवाटारमा बस्ने बताइएको छ । गत मंगलबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तोकेको थियो । ०७८ मंसिरमा महाधिवेशन गर्ने ओली पक्षको तयारी रहेको छ ।
त्यस्तै केन्द्रीय कमिटी विस्तार गरेको छ। केन्द्रीय कमिटीलाई १ हजार १ सय ९९ सय सदस्यीय बनाइएको छ । ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ सदस्य थपिएको हो । थपिएका केन्द्रीय सदस्य र पुरानालाई बालुवाटर बोलाइएको छ ।




