काठमाडौं । केन्द्रीय कार्यालय धुम्बाराई तालाबन्दी गरेर सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई पक्षले आज अलग अलग केन्द्रीय बैठक राख्दैछन् ।
ओली पक्षका नेताहरुले धुम्बाराही कब्जा गर्ने उद्देश्यका साथ तालाबन्दी गरेका छन् । सोमबार दिउँसो पार्टी कार्यालयमा तालाबन्दी गरेको हो ।
त्यसपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका हुन् । अहिले बिहान ९ बजे बालुवाटारमा केन्द्रीय बैठक राख्दैछन् भने कार्यकारी अध्यक्ष प्रचण्ड एवं वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठक दिउँसो १ बजे बस्ने भएको हो।
प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत आइतबार अचानक संसद् भंग गराई वैशाख १७ र २७ प्रतिनिधिसभाको चुनाव गर्ने घोषणा गरेपछि दुई पक्ष आआफ्ना रणनीति निर्माणमा लागेका हुन् ।
प्रचण्ड नेपाल पक्षले आइतबार बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार बबरमहलस्थित कार्की ब्यांक्वेटमा दिउँसो १ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको हो भने ओलीले त्यसअघि बिहान ९ बजे नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रीय कमिटी बैठक आह्वान गरेका हुन् । आजैबाट दुवै पक्षले एकले अर्कालाई कारवाहीको प्रक्रिया अघि बढाउँदै पार्टी विभाजनको सुरुवात गर्नेछन् ।




