काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका कारण राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली सर्वाधिक विवादमा तानिएका छन् । गत वर्ष वैशाखमै ल्याएको अध्यादेश फेरि आफू अनुकूल प्रयोग गर्न प्रधानमन्त्रीले ल्याएपछि उनी विवादमा तानिएका हुन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई महाअभियोग र अविश्वास प्रस्तावबाट हटाउनुपर्ने टिप्पणी गरेका छन् । भट्टराईले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको जोडी कायम रहेसम्म संविधान र लोकतन्त्रको शीरमाथि तरबार झुण्डिरहने बताएका छन् । संविधानले व्यवस्था गरेको महाअभियोग र अविश्वास प्रस्तावबाट नहटाए इतिहासले क्षमा नगर्ने उल्लेख गरेका छन् ।
‘वर्तमान राष्ट्रपति र प्रमको जोडी कायम रहेसम्म संविधान र लोकतन्त्रको शीरमाथि तरबार झुण्डिरहने कटुसत्य अहिलेसम्मका घटनाक्रमले पुष्टी गरिसके,’ भट्टराईले शुक्रबार बिहान ट्वीट गरेका छन् ‘अब पनि त्यस्तो अनिष्ट रोक्न संविधानले व्यवस्था गरेको महाभियोग,अविश्वासलगायतका हतियार प्रयोग गर्न खुट्टा कपाउनेलाई इतिहासले क्षमा गर्नेछैन है ।’




