रिबन

ओलीको रणनीति वामदेवको नाम प्रधानमन्त्रीमा अघि सार्ने अनि मनोरञ्जन लिने

काठमाडौं । विवादलाई समाधान गर्नेभन्दा पनि त्यसलाई पर सार्ने प्रधानमन्त्री केपी ओलीको पुरानो बानी फेरि पनि प्रकट भएको छ । जुन दृश्य बुधबारको नेकपाको स्थायी कमिटी बैठकमा पनि देखियो ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन स्थायी कमिटी बैठकमा प्रस्ताव गरेर विवादलाई सल्टाउनेभन्दा पनि पर सार्ने प्रयास गरेका छन् । ओलीको यो रणनीतिले फेरि एकपटक आमजनताले नेकपामा नेताहरुबीच मारामार भएको देख्न पाउने भएका छन् ।

बुधबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले पहिलो तहका चारजना नेता प्रधानमन्त्री भइसकेकाले अब वामदेवको पालो भएको बताए । अघिल्लो स्थानमा प्रधानमन्त्री ओली, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम थिए ।

‘पहिलो तहका पाँच नेतामध्ये चारजना प्रधानमन्त्री भइसकेका छौं । अब वामदेवजीलाई बनाऔं,’ प्रधानमन्त्रीले भनेका थिए, ‘उहाँ (वामदेव) लाई चुनावबाट ल्याउने कि अरु माध्यमबाट प्रधानमन्त्री बनाउने सामूहिक छलफल गरौं ।’

प्रधनामन्त्री ओलीले यसअघि पनि पटकपटक उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बन्न ‘अफर’ गरिसकेका छन् । ओली पक्षले गौतमलाई यही सरकारमा उपप्रधानमन्त्रीसहित भौतिक मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरिसकेको छ । तर गौतमले यो विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । ओलीले स्थायी कमिटी बैठकभित्रै वा केन्द्रीय कमिटीको बैठकअघि मन्त्रिपरिषद पुर्नगठन गरी गौतमलाई मन्त्री बनाउन लागेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री जस्तो व्यक्तिलाई राष्ट्रिय सभाको सदस्य भएका व्यक्तिलाई कसरी प्रधानमन्त्री बनाउन सकिन्छ ? भन्ने थाहा नभएको होइन । राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउन संविधान नै संशोधन गर्नुपर्ने हुन्छ । जबकि वामदेवलाई प्रधानमन्त्री बनाउनकै लागि नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी तयार हुन्छन् भन्ने कुनै ग्यारेन्टी छैन । तर, किन ओली वामदेवलाई प्रधानमन्त्रीमा अघि सारेर मनोरञ्जन लिइरहन चाहन्छन् ? भन्ने खुलेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *