रिबन

बादलबाट आश मरेको खुमलटारको निष्कर्ष, पम्फा भुसाल र देव गुरुङ कता ?

काठमाडौं । प्रधानमन्त्री केपी ओली गुटबाट आफ्नो भूमिका कटौती गरिइए पनि गृहमन्त्री रामबहादुर थापा बादलले कुनै प्रतिवाद नगर्नुलाई पूर्वमाओवादी पक्षका नेताले आश्चर्य मानेका छन् । गृहमन्त्री भए पनि मन्त्रालयको सरुवा, बढुवा र दरबन्दीमा उपप्रधानमन्त्री ईश्वर पोखरेल हाबी भएका छन् । तर, यी सबैका बाबजुद पनि बादल चुपचाप रहनुलाई खुमलटारले अब उनीबाट कुनै आश नरहेको निष्कर्ष निकालेको छ ।

बादल, देव गुरुङ, पम्फा भुसाल, हितमान शाक्य, कुलबहादुर केसीलगायतका नेता मोहन वैद्य किरणलाई छाडेर तत्कालीन एमाओवादीमा फर्केका थिए । त्यसपछि सबैभन्दा बढी अवसर प्रचण्डले बादललाई नै दिएका थिए । कृष्णबहादुर महरालाई सभामुख बनाएर बादलको नेतृत्वमा तत्कालीन माओवादी एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सामेल भएको थियो । पछि एमाले र माओवादीबीच एकता भई नेकपा गठन भयो । बादलले गृह मन्त्रालय सम्हालेदेखि उनले स्वतन्त्र ढंगले चलाउन पाएका छैनन् ।

त्यसमा पनि नेकपा विवादमा बादलले प्रधानमन्त्री ओलीको साथ नछाडेपछि प्रचण्ड असन्तुष्ट भएका हुन् । बादलसँगै आएका पम्फा भुसाल र देव गुरुङले भने प्रचण्डलाई साथ दिएका छन् । उनीहरूले बादलको साथ छाडेका छन् ।

बादलले अन्तिम समयमा आफूलाई सहयोग र साथ दिने प्रचण्डको आशा थियो । तर, शनिबारको सचिवालय बैठकमा उनले बालुवाटारको पक्षमा खलेको भूमिकाले खुमलटार अब बादललाई बोक्न नहुने निष्कर्षमा पुगेको हो ।

बादलको भूमिकापछि पूर्व माओवादी समूहले आफ्ना नेताहरूको वस्तुस्थितिको पुनर्मूल्याङ्कन गर्न थालेको बताइन्छ । सचिवालयमा बादल सिंगो छन् । स्थायी समितिमा बादलसँग नजिक भनेर चिनिएकाहरूमा पम्फा भुसाल र देव गुरुङको भूमिका प्रचण्डको पक्षमा छ । आफ्नाले साथ छाडेपछि बादल अहिले फेरि उनीहरूसँग नजिक हुन खोजिरहेका छन् । तर, पूर्वमाओवादी पक्षमा बादललाई विश्वास गर्न नहुने मत बलियो बन्दै गएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *