काठमाडौं । बेलायतको अन्तर्राष्ट्रिय समाचार एजेन्सी (बिबिसी) ले २०२० को संसारका एक सय प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा नेपालकी १८ वर्षीया सपना रोका मगरलाई समावेश गरेपछि उनको चर्चा विश्वभर फैलिएको छ । संसारका एक से एक महिलाको सूचीमा पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएकी सपनालाई पनि राखिएको हो ।
यस्तो सूचीमा पर्ने सपना नेपालबाट तेस्रो हुन् । आफूले गरेको समाजसेवाबाट संसारभर प्रख्यात भएपछि अहिले नेपालर र विदेशी मिडिया तथा सामाजिक सञ्जालमा सपनालाई बधाईको ओइरो लागेको छ । विदेशमा बसेका नेपालीले समेत उनको प्रशंसा गरेका छन् ।
तर, सरकारका तर्फबाट अहिलेसम्म पनि औपचारिक रूपमा सपनालाई बधाई तथा शुभेच्छासमेत प्रदान गरिएको छैन । विद्यादेवी भण्डारी राष्ट्रपति छिन् । एउटी १८ वर्षीया बालिकाले अन्तर्राष्ट्रियस्तरमा पाएको यत्रो सम्मानका लागि कम्तीमा पनि राष्ट्रपति भण्डारीले बधाई तथा शुभेच्छा देलिन् भन्ने सबैले सोचेका थिए । तर, अहिलेसम्म राष्ट्रपति कार्यालय यसबारे मौन देखिएको छ ।
आफ्ना पार्टी कार्यकर्ताको जन्मदिन र मृत्युमा शुभकामना र समवेदना दिन भ्याइनभ्याई हुने प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म सपनाले पाएको यत्रो सम्मान थाहै पाएका छैनन् । आफैं सामाजिक सञ्जाल र पत्रपत्रिका पढ्ने बानी भएका ओलीले औपचारिक रूपमा सपनालाई बधाई र शुभेच्छा दिने धेरैले अपेक्षा गरेका थिए । तर, तीन दिन बितिसक्दा पनि प्रधानमन्त्री ओलीले कुनै चासो देखाएका छैनन् ।
अन्य देशका राष्ट्र प्रमुख र सरकार प्रमुखले आफ्ना नागरिकले कुनै प्रगति गरे र सम्मान पाए भने सुरुमै बधाई र शुभकामना दिने गरेका छन् । जसले गर्दा उनीहरूप्रति जनताको सद्भाव पनि रहन्छ । तर, नेपालमा भने सरकारमा बस्नेले आफ्ना पार्टीका कार्यकर्ता त्यसमा पनि आफ्नो गुटका मानिसको प्रगतिमात्रै सोच्ने गरेका छन् ।




