रिबन

ओली ‘अर्ली इलेक्सन’ को मनस्थितिमा, कांग्रेस पनि तयार

काठमाडौं । सत्तारुढ नेकपाभित्रको किचलोले मुलुक ‘अर्ली इलेक्सन’ को दिशामा अघि बढेको छ । प्रधानमन्त्री केपी ओलीलाई पार्टीभित्रै घेराबन्दीमा पारिएपछि नेकपाबाटै कुनै नेताको नेतृत्वमा सरकार सञ्चालन गर्नुभन्दा ओलीले आफ्नै नेतृत्वमा ‘अर्ली इलेक्सन’ गराउने विश्लेषण गर्न थालिएको छ ।

पाँच वर्षको अवधिमध्ये तीन वर्ष सकिइसकेको छ । अब दुई वर्षभित्र त कुनै पनि हालतमा चुनवमा जानै पर्छ । त्यसैले यतिबेला सत्ता परिवर्तनभन्दा ‘अर्ली इलेक्सन’ नै सबैभन्दा उपयुक्त विकल्प हुने सुझाव ओलीलाई आफू निकट नेताहरूले दिन थालेका छन् । अहिले ओली पक्षका नेताहरू यो सरकार पाँचै वर्ष टिक्ने भनिरहेका छन् । तर, पार्टीभित्र विवाद रहिरहेसम्म ओलीले सहज ढंगले सरकार सञ्चालन गर्न नसक्ने देखिएको छ ।

सत्ता सञ्चालन गर्न नेकपा असफल भइसकेको छ । प्रधानमन्त्री ओली मात्रै असफल भए भन्ने कुरा गलत हो, सिंगो नेकपा असफल भएको हो । ओली प्रधानमन्त्री हुन्, तर उनले स्वविवेकले मन्त्री नियुक्त गरेका होइनन् । प्रचण्ड तथा माधवकुमार नेपाललगायतका नेताहरू पनि भागबन्डामा समावेश भएका छन् ।

ओलीको विकल्पमा नेकपाबाटै अर्को प्रधानमन्त्री बनाइयो भने मुलुकमा सुशासन प्राप्त हुन्छ कि भन्नु अब आत्मरति मात्र हुन्छ । किनभने एक वर्षको अवधिमा मुलुकमा ५८ प्रतिशतले भ्रष्टाचार बढेको र त्यसलाई प्रधानमन्त्री, राष्ट्रपतिबाटै संरक्षण रहेको प्तिवेदन सार्वजनिक भएको छ । त्यसैले नेकपामा अबको विकल्प भनेको ‘अर्ली इलेक्सन’ नै रहेको बहस सुरु भएको छ ।

यदि प्रधानमन्त्री ओली ‘अर्ली इलेक्सन’ मा गएमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस पनि तयार रहेको नेताहरूले बताउन थालेका छन् । प्रधानमन्त्री ओलीले गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता सहकार्यका लागि प्रस्ताव गरेको समाचार सावर्जनिक भएपछि नेताहरुले अब कांग्रेसको आँखा सिंहदरबारतिर होइन, महाधिवेशन र आमनिर्वाचनमा लगाउनुपर्ने आवाज उठ्न थालेको छ ।

अहिलेकै अवस्थामा ओली सरकारमा कांग्रेस जान नहुने आवाज उठेपछि मुलुक चाँडै आमनिर्वाचनको दिशामा अघि बढ्ने संकेत देखिन थालेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यही प्रतिनिधिसभाकालमा होइन, कांग्रेस अबको चुनावपछि पाँच वर्ष सरकारमा रहने गरी आउने घोषणा गरिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *