काठमाडौं । प्रधानमन्त्री केपी ओली यतिबेला मंसिर १३ गते बस्ने नेकपा सचिवालय बैठकमा पेस गर्ने प्रस्ताव लेखिरहेका छन् । अघिल्लो सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १९ पृष्ठको पत्रको जवाफ दिन १० दिन सचिवालय बैठक पर सारिएको हो ।
यसअघि प्रचण्डले लगाएका आरोपको जवाफ नै दिन्नँ भनेर अडानमा बसेका ओली अन्ततः गल्न पुगे र सचिवालय बैठकमा प्रचण्डसहित पाँच नेतामाथि कडा शब्दमा निन्दा गर्दै ओलीले सोही ढंगले पत्रको जवाफ दिने घोषणा गरे ।
नौ सदस्यीय सचिवालय बैठकमा ओली अहिले अल्पमतमा छन् । उनीसँग महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा बादल देखिएका छन् । तर, पार्टी नै विभाजन हुने अवस्था आएमा आफूले प्रचण्डलाई साथ दिने उनले घोषणा गरिसकेकाले उनको भर छैन । किनभने बादलको पूर्वएमालेमा पकड छैन ।
प्रचण्ड पक्षमा माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ छन् । प्रचण्डकै बहुमत देखिएको छ । यदि १३ गते ओलीले पेस गरेको पत्र बहुमतले अस्वीकार गरेमा ओलीले के गर्लान् ? प्रतीक्षाकै विषय बनेको छ ।
यसअघि सचिवालय बैठक नै नबोलाउने, बोलाएमा आफू सहभागी नहुने बताउँदै आएका प्रधानमन्त्री ओलीले विवाद सल्टाउन राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको समेत प्रयोग गरे । जसका कारण सचिवालय बैठक १० दिन पर सरेको सबैले बुझेकै छन् । तर, १० दिनपछि के गर्ने भन्ने ? अन्योलमा बालुवाटार देखिएको छ । सोही कारण प्रधानमन्त्री ओलीकै चाहनामा चिनियाँ विदेश वा रक्षामन्त्रीको नेपाल भ्रमण तय गरिएको हो ।
स्रोतका अनुसार चिनियाँ मन्त्री नेकपाको सचिवालय बैठकअघि नै नेपाल आउने छन् । र, राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी ओली, प्रचण्ड, माधव नेपालसहितलाई भेट्ने भएका छन् । अहिले रक्षामन्त्री वाङ फेङ आउने चर्चा छ । उनी चिनियाँ राष्ट्रपति सी जिन पिङका विश्वासपात्र हुन् । चीनले प्रधानमन्त्री फेरिए पनि नेकपा एकढिक्का होस् भन्ने सन्देश पठाइसकेको छ ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्षगाँठका अवसरमा नेपाल चाइना मिडिया फोरमले काठमाडौंमा आयोजना गरेको ‘युनान : सांग्रिला सांस्कृतिक आदानप्रदान कार्यक्रम’ मा सहभागी हुन भन्दै चिनियाँ प्रभावशाली मन्त्रीलाई नेपाल बोलाइएको स्रोतले बतायो ।




