काठमाडौं । नेकपामा देखिएको कलह केही दिनका लागि मत्थर भएको छ । मंसिर १३ गतेसम्म प्रधानमन्त्री केपी ओलीले प्रस्ताव तयार पार्न समय माग गरेपछि सचिवालय बैठक सो मितिसम्मका लागि स्थगित भएको हो ।
तर, ओलीको कार्यशैलीलाई लिएर नेकपामा विवाद देखिएको अहिले मात्र होइन । उनले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको एक वर्षदेखि नै पार्टीमा विवाद देखिँदै आएको छ । खासगरी तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा गठन भएको एक वर्षपछि ओलीविरुद्ध मोर्चाबन्दी सुरु हुन थालेको हो । मिर्गौैलाले काम गर्न छाडेपछि ओलीले सरकार सञ्चालन गर्न सकेनन् । अधिकांश समय अस्पताल र बालुवाटारमै बसेर ओलीले सरकार चलाउने, आफ्नो मनखुसी नियुक्ति, जिम्मेवारी दिने गर्न थालेपछि उनीविरुद्ध पार्टीमा धु्रवीकरण बढ्दै गएको हो ।
कतिसम्म भने वैशाखयता ओलीको कुर्सी तीनपटक धर्मरमा परिसकेको छ । तर, तीनैपटक उनको रक्षाकवच राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राजदूत होउ यान्छी बनेका छन् । यसपटक ओलीलाई प्रधानमन्त्री र अध्यक्षमध्ये एउटा पदबाट जसरी पनि हटाउने तयारीमा इतर समूह निष्कर्षमा पुगेका थिए । तर, एक रातको चलखेलले उनको कुर्सी जोगिएको छ ।
राष्ट्रपति भण्डारीको अस्वाभाविक सक्रियता र चिनियाँ राजदूत यान्छीको दबाबपछि ओलीको पद थमौती हुने दिशामा अघि बढेको छ । भण्डारी सुरुदेखि नै ओली निकट रहँदै आएकी छन् । पार्टीमा उनी सबैको नेता बन्न सकेकी छैनन् । यसपटक उनले प्रचण्डलाई महाधिवेशनसम्म कार्यकारी अध्यक्ष, महाधिवेशनपछि एकल अध्यक्ष र निर्वाचनपछि प्रधानमन्त्री बनाउने आश्वासन दिएको मिडियामा आइसकेको छ । जबकि निर्वाचनमा नेकपाले अघिल्लो जस्तै भोट ल्याउँछ भन्ने कुनै ग्यारेन्टी छैन । तर, पनि किन हुन नसक्ने आश्वास दिन भण्डारी लागिपरेकी छन् ? ओली गुटको मात्र राष्ट्रपति किन बन्दैछिन् ? भन्ने जनताले प्रश्न गर्न थालेका छन् ।
हुम्लामा चीनले सीमा मिच्यो भन्दा अहिलेको सरकारले तुरुन्तै अघि सर्दै मिचेको छैन भन्नुले ओली चीनप्रति कति नतमस्तक रहेछन् भन्ने पुष्टि हुन्छ । अहिलेको नेकपाको विवादमा मध्यस्थकर्ता चिनियाँ राजदूत यान्छी हुनुले नेपालमा चीनले जति नै हस्तक्षेप गरे पनि त्यसलाई स्वीकार्ने र बढावा दिने प्रधानमन्त्री ओलीको रणनीति रहेको छ । त्यसैले राति १० बजेपछि पनि चिनियाँ राजदूतलाई किन बालुवाटारमा भेटवार्ता दिन्छन् ? प्रश्न उब्जेको छ ।




