काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज दिउँसो अकस्मात मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।
प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएकै समयमा बालुवाटारमा नेकपा सचिवालय बैठक पनि बोलाइएको छ । प्रचण्ड समूहको बहुमत रहेको सचिवालय बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागी हुने देखेपछि ओलीले सोही समयमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
नेकपा अध्यक्षद्वय ओली र प्रचण्डको टक्करका कारण नेपालको राजनीतिले आज कोल्टे फेर्ने अनुमान गरिएको छ । यदि बहुमत सदस्यले निर्णय गरेर आफ्नो पदमा धावा बोले ओलीले मध्यावधि चुनाव घोषणा गरिदिने आशंका गरिएको छ ।
नेकपामा प्रचण्डलाई तह लगाउन ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राजदूत होउ यान्छीको प्रयोग गरेका छन् । राष्ट्रपति र चिनियाँ राजदूतले अहिले नेकपामा हस्तक्षेप गर्न थालेका छन् । नेताहरूको मोबाइलमा घन्टी बजाउन व्यस्त छन् ।




