काठमाडौं । पार्टीमा अलिकति समस्या आउनेवित्तिकै प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्ने गरेका थिए । तर, अहिले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् ।
प्रधानमन्त्री केपी ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सूचना पाएपछि प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेको बुझिएको छ । गत वैशाखमा तत्कालीन दुई मधेसवादी पार्टी विभाजन गर्ने उद्देश्यले ओलीले राजनीतिक अध्यादेशसम्बन्धी अध्यादेश ल्याएका थिए । राष्ट्रपतिले अध्यादेश जारी गरे पनि चौतर्फी विरोध भएपछि सरकारले फिर्ता लिएको थियो ।
अहिले नेकपाको संसदीय दल, स्थायी कमिटी तथा केन्द्रीय समिति सबैतिर अल्पमतमा छन् । बहुमतका आधारमा पार्टीले गम्भीर निर्णय लिन सक्ने भय उनमा देखिएको छ ।
पार्टीमा विवाद उत्कर्षमा पुगेका बेला प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न जानुलाई अर्थपूर्ण मानिएको छ । आफ्नो आग्रहलाई नमानेपछि ओलीले राष्ट्रपतिलाई अघि सारेको विश्लेषण गर्न थालिएको छ ।
नेकपा सचिवालय बैठकको पूर्वसन्ध्यामा राष्ट्रपति भण्डारी र नेकपा अध्यक्ष प्रचण्डबीच भएको भेटघाट भएको हो। नेकपा महासचिव विष्णु पौडेलले मंगलबार मात्र उनकै निवास खुमलटारमा पुगेर भेटवार्ता गरेका थिए । तर, समस्या अझै बाँकी नै छ ।




