काठमाडौं । सत्तारुढ नेकपामा देखिएको शीर्ष नेताबीचको विवादले पार्टी नै विभाजन हुने हो कि भन्ने आशंका गर्न थालिएको छ । खासगरी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको ‘इगो’ ले निकट भविष्यमा राजनीतिक दुर्घटना हुने विश्लेषण सुरु भएको छ ।
आफू कार्यकारी अध्यक्ष भए पनि ओलीले कुनै काम गर्न नदिएको प्रचण्डको आरोप छ । ओलीले भने प्रचण्ड धोकेबाज भएको आरोप लगाउँदै सधैं असहयोग गरेको र गुटको भेला गरेर हिँडेको, सरकारलाई असहयोग गरेको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका छन् । जसले गर्दा दुई अध्यक्षबीचको तिक्तताका कारण आगामी दिनमा कसरी नेकपा अघि बढ्ला भन्ने नेता कार्यकर्ताले चिन्ता जनाउन थालेका छन् ।
अहिलेको अवस्थामा सबैभन्दा संकट प्रचण्डलाई छ । पार्टी फुटाउँ भने केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत आवश्यक पर्छ । त्यो प्रचण्डले जुटाउन सक्ने अवस्था छैन । नफुटाई नेकपामै रहँदा आफू ओलीको ‘एस म्यान’ बाहेक अर्को विकल्प उनीसँग छैन । त्यसैले अहिले उनी मझदारमा छन् । न अघि जान सक्ने न पछि नै फर्कन सक्ने अवस्थामा प्रचण्ड पुगेका छन् ।
आफूले २०औं वर्ष लगाएर जन्माई हुर्काइ बढाएको माओवादी पार्टी ‘वाम एकता’ को नाममा एमालेसँग एकता गरेका थिए । ओलीपछि नेकपाको नेतृत्व आफ्नो हातमा आउने उनको अनुमान थियो । तर, त्यस्तो भएन । ओलीसँग सम्बन्ध बिग्रिसकेको छ । सम्भवतः अब हार्दिक ढंगले ओली र प्रचण्ड मिलेर नेकपाको गाडी सँगै हाँक्लान् भन्ने धेरैलाई आश छैन । एकता महाधिवेशनबाट नेकपामा पूर्वमाओवादी पत्तासाफ गर्ने ढंगले पूर्वएमालेहरू लागिसकेका छन् । नेकपामा वरिष्ठ नेता माधवकुमार नेपालले एकता महाधिवेशनमा अध्यक्षमा दाबी गर्ने प्रबल सम्भावना भएकाले पनि प्रचण्डलाई निकै सकस परेको नेताहरु बताउँछन् ।




