काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले वैशाखमै पार्टी फुटाउन खोजेको आरोप लगाएका छन् । आफूलाई भेट्न खुमलटार आएका डेढ दर्जन पूर्वमाओवादी युवा विद्यार्थी नेतासँगको भेटमा प्रचण्डले यस्तो खुलासा गरेका हुन् ।
प्रचण्डले ओलीले वैशाखमै पार्टी फुटाउन खोजे पनि आफू र वरिष्ठ नेता माधवकुमार नेपालले जोगाएको पनि दाबी गरेका थिए । आफूहरू नेकपा बचाउन लागिपरेको तर ओली भने एमाले बनाउने अभियानमा अघि बढेको बताएका थिए । त्यसैले यसपटक ओलीसँग आन्तरिक संघर्ष वारपारको हुने उनले प्रस्ट संकेत गरेका छन् ।
‘हामीले नेकपा बनाउन खोजिरहेका छौँ, उहाँले एमाले बनाउन खोजिराख्नुभएको छ । हामी सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दल सबैतिर बहुमतमा छौँ । त्यसकारण पार्टी फुटाए ओलीजीले नै फुटाउने हो । यसपटक विगतमा जस्तो उहाँसँग कुनै सम्झौताको सम्भावना छैन, दृढतापूर्वक लडिन्छ । पार्टी कमिटीले गर्ने सबै निर्णय उहाँले पालना गर्नुपर्ने हुन्छ । अब कसैलाई जतिसुकै चारो हाले पनि त्यसको कुनै अर्थ हुनेछैन,’ प्रचण्डको भनाइ थियो ।
लामो रस्साकस्सीपछि नेकपाको सचिवालय बैठक आज बालुवाटारमा बस्दैछ । बैठकमा कसरी प्रस्तुत हुने विषयमा बिहीबार साँझ प्रचण्ड, नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ सम्मिलित बैठक बसेको थियो । पाँचै सदस्य एकढिक्का भएर बैठकमा प्रस्तुत हुने भएका छन् । प्रचण्डले आज छुट्टै राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने बताइएका छन् ।
रिबन




