काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री बन्ने कानूनी बाटो खुला भएको छ । सर्वोच्च अदालतले उपाध्यक्ष गौतमको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको गरे लगत्तै शुभेच्छुकहरुलाई गौतमले धन्यवाद दिएका छन् । मन्त्री बन्ने बाटो खुलेपछि म प्रति शुभेच्छा र सद्भाव प्रकट गर्नुहुने समस्त महानुभावप्रति म हार्दिक आभार प्रकट गर्दछु उपाध्यक्ष गौतमले भनेका छन्।
उपाध्यक्ष गौतमले आफ्नो पक्षमा बहस गर्नुहुने सम्पूर्ण विद्वान कानुन व्यवसायी मित्रहरु प्रति कृतज्ञ व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘वास्तवमा यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको थिएन, हामी पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरु क्रियाशील भए, फेरि पनि म संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताका पूर्वक उभिइरहने प्रण गर्दछु।’
राष्ट्रियसभा सदस्यमा नियुक्त भएकोमा बदर गर्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश नहुने जनाएको हो। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले अन्तरिम आदेश नहुने फैसला गरेको हो। राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रियसभा सचिवालय, नेकपा र सांसद गौतमलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेता गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने राष्ट्रपतिको गत भदौ २९ को निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दायर गरेका थिए।
सरकारले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। नेता गौतम २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बर्दिया –१ बाट पराजित भएका थिए ।




