मुख्य समाचार

विवाद सुल्झाउन प्रचण्डले केन्द्रीय कमिटीको बैठकसम्म धैर्य गर्न सक्लान् ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आइतबार आफ्नो पार्टीका केन्द्रीय सचिवालय सदस्यहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फूटाउने बताएपछि त्यहाँ विविध खालका मतहरु आएका छन् । प्रचण्डले आफ्ना कुरा सुनाएअनुसार नेकपा गम्भीर मोडमा आइपुगेको संकेत गरेको र जसले गर्दा पार्टी एकतालाई जोगाएर लैजाने विषयमा विविध मत आएका हुन् ।

सचिवालयका बहुमत सदस्यहरुको आफ्नै निवास खुमलटारमा भएको छलफलमा दाहालले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय पनि नमान्ने र सँगै अघि बढ्न नसकिने भए अलग हुनसक्ने समेत प्रस्ताव गरेको सुनाएका थिए । त्यो छलफलका क्रममा विभाजनको संघारमा पुगेर बल्लतल्ल जोगिएको पार्टीलाई पुनः विभाजनमा पुग्नबाट रोक्न तत्काल बैठक बोलाइनुपर्ने र पार्टीको बैठकबाट नै यसको निकास खोजिनुपर्ने निचोडसमेत नेताहरुले निकालेका थिए ।

सचिवालय, स्थायी कमिटी वा केन्द्रिय कमिटीमध्ये कुन बैठक बोलाउने बारेमा उनीहरुले सोचेको भन्दै त्यही अनुसार छलफल गरौ भनेका थिए । शनिबार अध्यक्षद्वय ओली र दाहालबीच भएको भेटमा दाहालले तत्काल केन्द्रीय सचिवालयको बैठक बोलाउन माग गरेको बताएका थिए । आइतबार सचिवालयका सदस्यहरुसँगको छलफलमा उनले प्रधानमन्त्री ओलीले बैठक पनि नबोलाउने र पार्टीले बहुमतबाट गरेका निर्णय पनि नमान्ने बताएको भन्दै पार्टीमा गम्भीर संकट पैदा भएको सुनाएका थिए ।

दाहालले आफूनिकट नेताहरुसँग यो विषयलाई सचिवालय वा स्थायी कमिटी नभई अब केन्द्रीय कमिटी बैठकमा लैजानेबारे छलफल शुरु गरेका छन् । केन्द्रिय कमिटी महाधिवेशनपछि नेकपाको सबभन्दा शक्तिशाली थलो र कार्यकारी कमिटी हो। दाहाल र माधवकुमार नेपाल समूहले केन्द्रीय कमिटीमा आफ्नो भारी बहुमत रहेको बताउँदै आएको छ । स्थायी कमिटी वैठकपछि पार्टीभित्रको विवाद साम्य भयो भनिएको थियो, तर अहिले समस्या झन् बढेर गएको अवस्थामा पार्टी निर्णय र सरकारको निर्णयमा तालमेल मिलेन, बरु पार्टीमा थप संकट पैदा भएको अवस्थामा त्यसको निरुपण गर्ने निकाय केन्द्रीय कमिटी मात्रै भएकाले त्यसैबाट टुग्याउनु पर्ने धारणा मुखर भएको थियो ।

विवाद मिलाउने भनिएको एक चरण सकिएकाले अब कमिटी प्रणालीमा जानुपर्ने र केन्द्रीय कमिटीले महाधिवेशनसम्म सरकारलाई नचलाऔं भने पनि ठिकै छ, बहुमतले सरकारबारे निर्णय गर्छ भने पनि ठिकै छ भन्ने अवस्थामा पुग्दा राम्रो हुन धारणा आएको थियो । यसबाट प्रचण्डलाई तत्काल पार्टीबाट अलग हुने अवस्थामा बाधा आइलागेको छ । सचिवालय सदस्यहरुबाटै यस्तो धारणा आएपछि भने प्रचण्डले अब विवादलाई केन्द्रीय कमिटीमा लैजान्छन कि सचिवालयमै राख्छन भन्ने प्रश्न मुखर रुपमा उठेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *