काठमाडौं । सत्तारुढ दल नेकपाका नेताहरुले जनतालाई धोका दिएका छन् । चुनाव र पार्टी एकताताका गरेको वाचा भुलेर नेकपाका नेता पार्टी विभाजनसम्मको कोर्सका लागि तयारी अवस्थामा देखिएपछि उनीहरुले जनतालाई धोका दिएका छन् । उनीहरू मतदाता र कार्यकर्तालाई धोका दिने बाटोतिर मोडिन थालेका छन् ।
‘हाम्रा दुई कम्युनिस्ट पार्टीहरूको यो एकता नेपालको संविधानको धारा २६९ को उपधारा १ मा उल्लेखित ‘समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिहरूले’ राजनीतिक पार्टी निर्माण र सञ्चालन गर्न पाउने संवैधानिक प्रावधानअनुरूप छ । यो एकताको पहल नेपालका आमश्रमजीवी र देशभक्त जनताको सम्मानको परिचायक हो । यो एकता प्रयत्न २००७ सालदेखि सुरु भएको राजनीतिक अस्थिरता अन्त्यको सूचक हो ।
यो नेपाली जनतामा रहेको गरिबी, अभाव, पछ्यौटेपन, भेदभाव र असमानता समाप्त गर्दै सामाजिक न्याय र समानतामा आधारित सुसंस्कृत र समृद्ध राष्ट्र निर्माणको प्रतिबद्धता पनि हो । यो एकता राष्ट्र पुनर्निर्माण गर्ने संकल्पको द्योतक हो । यस महाअभियानमा सामेल हुन हामी विभिन्न कम्युनिस्टहरूका अतिरिक्त सबै वामपन्थी, देशभक्तहरू र सच्चा लोकतन्त्रवादीहरूलाई आह्वान गर्दछौं ,’ भोट माग्दा वाम गठबन्धनको चुनावी घोषणापत्रमा भनेका थिए ।
तर, अहिले पार्टी विभाजनसम्मको गृहकार्यमा शीर्ष नेता नै जुटेका छन् । यसबाहेक पार्टी एकता गर्दाको राजनीतिक प्रतिवेदनमा उनीहरूले लेखेका थिए, ‘विश्वव्यापी रूपमा कम्युनिस्ट तथा वाम आन्दोलन प्रतिरक्षात्मक रहेको वर्तमान अवस्थामा नेपाल यस्तो मुलुक हो, जहाँ सातमध्ये ६ प्रदेश तथा अधिकांश स्थानीय तहमा वामपन्थीहरूले झन्डै दुईतिहाइ बहुमतसहितको सरकार निर्माण गरेका छन् ।
यो विश्वमै उदाहरणीय तथा प्रेरणादायी घटनाका रूपमा रहेको थियो । नेपालमा शान्तिपूर्ण एवं वैधानिक ढंगबाट समाजवाद निर्माणको सम्भावना रहेका बेला नेकपा विभाजित हुने अवस्थामा पुगेको छ ।




