काठमाडौं । सञ्चारकर्मीको निःशुल्क पीसीआर परीक्षण व्यवस्था मिलाउन नेपाल पत्रकार महासंघले सरकारसँग माग गरेको छ । आज आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै महासंघले उच्च जोखिमका साथ रिपोर्टिङमा खटेका पत्रकारको निःशुल्क परीक्षणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
महासंघ महासचिव रमेश बिष्टद्वारा जारी विज्ञप्तीमा संक्रमण भएर उपचाररत सबै संक्रमित पत्रकारको उपचारको उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ । मन्त्री, सांसद् तथा उच्च पदस्थ सरकारी कर्मचारीहरुलाई राज्यबाट निःशुल्क परीक्षण र उपचार भइरहेको सन्दर्भमा पत्रकारलाई पनि सोही व्यवस्था गर्न महासंघको माग छ ।
महासंघका अनुसार कोरोना भाइरस संक्रमणबाट नेपालमा चार जना पत्रकारको मृत्यु भएको छ । चार सय भन्दा बढी पत्रकार संक्रमित भएका छन् ।




