मुख्य समाचार

पूर्वमन्त्री विश्वकर्मा थप उपचारका लागि ग्रान्डी अस्पतालको भेन्टिलेटरमा

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्मालाई थप उपचारका लागि भेन्टिलेटरमा सारिएको छ । हाल उनको स्वास्थ्य अवस्था स्थीर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

कोरोना संक्रमणसँगै फोक्सोमा निमोनिया देखिएपछि शनिबार अपरान्ह १ बजेदेखि विश्वकर्मालाई ग्राण्डी अस्पतालको सघन उपचार कक्ष भेन्टिलेटरमा राखेर थप उपचार भइरहेको नेपाल दलित विद्यार्थी संघका अध्यक्ष राजु सुनारले जानकारी दिए ।

ग्रान्डी अस्पताल डाक्टर आनन्द ठाकुरको प्रत्यक्ष निगरानीमा नेता विश्वकर्माको उपचार भइरहेको छ । भेन्टिलेटरमा पाँच दिनको उपचारको कोर्स पुरा गर्दा निमोनिया निको पार्न सकिने डाक्टरहरुले को अपेक्षा गरेका छन् ।

५३ वर्षीय विश्वकर्मालाई कार्तिक १ गते कोरोना संक्रमण देखिएपछि होम आइसुलेसनमा बसेका थिए । श्वास प्रश्वासमा समस्या भएपछि उनी वीर अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । वीरका मेडिकल डाइरेक्टर केदार सिन्चुरीका सल्लाहमा विश्वकर्मालाई थप उपचारका लागि ग्रान्डी अस्पताल पु¥याइएको हो ।

नेता विश्वकर्माको स्वास्थ्य अवस्थाबारे नेपाली कांग्रेसले चासो दिएको छ । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल अस्पताल पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । नेता गोपालमान श्रेष्ठ, एनपी साउदलगायतका नेताहरुले अस्पताल पुगेर विश्वकर्माको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *