काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पदबाट राजीनामा दिन आग्रह गरेका छन् । मन्त्रिमण्डल पुनर्गठन, राजदूतहरुको नियुक्ती, कर्णाली विवाद र ‘रअ’का प्रमुखसँगको अपारदर्शी भेटघाटप्रति आपत्ति जनाउँदै कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउने गृहकार्य आरम्भ गरेका थिए ।
यही कात्तिक ४ गते प्रधानमन्त्री ओलीलाई भेटेरै चेतावनी दिएका अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्री ओलीले निरन्तर भेटवार्ताको प्रयास गरे पनि सफल हुन सकेका थिएनन् । अनेकथरी बहाना बनाउँदै प्रचण्डले भेटघाट गर्ने ओलीको प्रस्ताव आलटाल गरेका थिए । अर्थमन्त्रीसमेत रहेका महासचिव विष्णु पौडेलको ठूलो प्रयासपछि प्रधानमन्त्री ओलीसँग भेटबार्ता गर्न प्रचण्ड राजी भएका हुन् ।
शनिबार प्रधानमन्त्री ओलीसँग भेट्न जानुअघि प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालसँग लामो छलफल गरेका थिए । छलफलका क्रममा ओलीको राजीनामा नै बटम लाइन बनाउने सहमति प्रचण्ड र नेपालबीच भएको थियो । त्यही कुरा प्रचण्डले ओली समक्ष राखेका हुन् । समाचार स्रोतका अनुसार उक्त भेटघाटमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई भने – ‘तपाँइले सरकार चलाउन सक्नु भएन, चौतर्फी असन्तुष्टि छ, जनता निरास छन् , यस्तै अवस्था लम्बियो भने लोकतन्त्र माथि खतरा उत्पन्न हुन्छ , त्यसैले तपाँइको राजीनामा नै अहिलेका लागि सुरक्षित अवतारण हो ।’ प्रचण्डको यो आग्रहपछि प्रधानमन्त्री ओली निकै आक्रोसित भएका थिए, उनको अनुहारमा आक्रोस प्रकट भए पनि शब्दमा भने व्यक्त गरेनन् ।
यो आक्रोसपछि प्रचण्डले भने –‘तपाँइले मात्रै त्याग गर्नु पर्छ भनेर मैले भनेको होइन , म पनि त्याग गर्न तयार छु , माधवजीलाई प्रधानमन्त्री बनाएर सुरक्षित अवतरणको बाटो खोलौं । ’राजीनामा नदिए आगामी छठ पर्वपछि प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता हुनसक्ने चेतावनी समेत प्रचण्डले दिएको समाचार स्रोतले जनाएको छ । तर अविश्वासको प्रस्ताव ल्याउने प्रचण्डको चेतावनीलाई भने प्रधानमन्त्री ओलीले धेरैनै असहजताका साथ लिएका छन् ।
करिव ११ दिनको अन्तरालपछि भएको यो भेटघाटमा कार्यकारी अध्यक्ष अध्यक्ष प्रचण्डले सचिवालय बैठकको प्रस्ताव राखे । सचिवालयको बैठक नबोलाईए आफै बोलाउने चेतावनी पनि प्रचण्डले दिए ।
भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग मध्यरातमा करिव तीन घण्टासम्म गरेको गोप्य भेटघाटपछि प्रचण्ड प्रधानमन्त्री ओलीसँग झस्केका हुन् । उक्त भेटघाटमा राजतन्त्र पुनर्वाहाली गर्ने सहमति समेत भएको प्रचण्डले बताउन थालेका छन् । आगामी मंसिर भित्र ओलीलाई विस्थापित नगरे मुलुक प्रतिगमनको दिशा तिर जाने भन्दै नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले अन्य पार्टीका नेताहरु सँग समेत भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री ओलीको दुई वर्षे कार्यकाल पुग्दा नपुग्दै गत मंसिरमै पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले सरकार परिवर्तनको गृहकार्य थालनी गरेका थिए । पार्टी एकीकरणका बेला भएको संझौतामा सुरुको दुई वर्ष ओली र त्यस पछिको तीन वर्ष प्रचण्ड प्रधानमन्त्री हुने लिखितम गरिएको थियो । त्यो लिखितमलाई कार्यन्वयन गराउन प्रचण्डले त्यतिबेला गरेको प्रयास सफल हुन सकेन । ओली नै पुरा अवधी प्रधानमन्त्री बन्ने र प्रचण्डलाई शक्ति बाँडफाँड गर्ने सहमति भयो । तर, त्यो सहमति ओलीले कार्यान्वयन नगरेपछि यतिबेला प्रचण्ड कुनै हालतमा पनि सरकार परिवर्तन गर्ने अभियानमा जुटेका हुन् ।
आफू प्रधानमन्त्रीका रुपमा अघि सर्दा ओली विरुद्ध बहुमत पुर्याउन नसकिने अवस्था उत्पन्न भए पछि प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाललाई अघि सारेका छन् । नेपाललाई भावि प्रधानमन्त्रीका रुपमा अघि सार्दा ओली विरुद्ध स्वतः बहुमत पुग्ने अंकगणित नेकपाको संसदीय दलमा छ ।
समाचार स्रोतका अनुसार गत भदौमा भएको सहमति विपरित प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गरेपछि र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउने प्रयासमा जुटेपछि प्रचण्ड आलीसँग मिल्नै नसक्ने गरी विच्केका हुन् । उनले यही कात्तिक ४ गते प्रधानमन्त्री ओलीलाई भेटेरै अब साथ दिन नसक्ने चेतावनी दिएका थिए । प्रधानमन्त्री ओलीले पनि जानेबुझेको गर्न चुनौती दिएका थिए । यो भेट लगत्तै प्रधानमन्त्री ओलीले नेपाललाई भेटेर प्रचण्डलाई एक्ल्याउने प्रस्ताव अघि सारे । साथै अन्तिम एक वर्ष प्रधानमन्त्री बनाइदिने आश्वसन पनि दिए । यो सुँइको पाएपछि प्रचण्डले नेपाललाई भेटेर मंसीर भित्रै प्रधानमन्त्री बनाई दिने बचन दिएका छन् । त्यो कुरा बुझेका प्रधानमन्त्री ओलीले कात्तिक १५ देखि बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित गराएका छन् ।
प्रधानमन्त्री परिवर्तनका लागि दुई वटा विधि छन् । एउटा विधि पार्टीको आन्तिरिक प्रक्रिया हो । अर्को विधि संसदीय प्रक्रिया हो । संसदमा स्पष्ट बहुमत प्राप्त पार्टी भएकोले नेकपाले संसदीय दलको नेता परिवर्तन गरी ओलीलाई विस्थापित गर्न सक्छ । तर पार्टी अध्यक्ष तथा संसदीयदलको नेता दुवै पद ओली सँग छ । उनले आँफू संकटमा पर्ने गरी संसदीयदलको नेता परिवर्तन प्रक्रिया अघि बढाउन दिने संभावना छैन । यो प्रक्रियामा जाँदा ढिलाई हुने अवस्था छ । अर्को प्रक्रिया अर्थात प्रतिनिधिसभामा प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा प्रचण्ड छन् ।
प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्न तत्कालिन एमालेको ठूलो पंक्ति तयार नभएकै कारण ओलीको पद संकटमा परेको थिएन, तर प्रचण्डले भावि प्रधानमन्त्रीका रुपमा नेपाललाई अघि सारेपछि ओली संसदीय दलमा कमजोर भएका छन् ।
संविधानको धारा १०० मा प्रधानमन्त्रीलाई प्रतिनिधिसभाको बहुमत ल्याएर हटाउन सकिने प्रावधान छ । ओली विरुद्ध प्रचण्ड र माधव नेपालकै गठजोडले प्रतिनिधिसभामा बहुमत पुग्ने अवस्था छैन । यसका लागि नेपाली कांग्रेस र मधेसीदल दुवैले साथ दिनु पर्ने हुन्छ । यसका लागि नेपाली कांग्रेस र मधेसीदल दुवै तयार देखिएका छन् । नेपाली कांग्रेसले यही कात्तिक २१ गते केन्द्रिय समितिको बैठक बोलाएको छ । उक्त बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र राजीनामा नदिए आन्दोलन थाल्ने निर्णय गर्दैछ ।
नेपाली कांग्रेस र मधेसीदलले माधव नेपाललाई भावि प्रधानमन्त्री प्रस्ताव गर्दै प्रतिनिधिसभामा प्रधानमन्त्री विरुद्ध आविश्वासको प्रस्ताव दर्ता गर्ने गरी प्रचण्डले कुरा अघि बढाएका छन् । माधव नेपालले ओली विस्थापित गर्ने एकनि हुना साथ अविश्वासको प्रस्ताव दर्ता हुनेछ । नेकपाका १ सय ७५ सिटमध्ये ५० सिट मात्रै प्रचण्ड र नेपालले फुत्काए भने पनि ओली सरकार ढल्छ , तर उनीहरु कम्तिमा १ सय सीट फुत्काउन सक्ने अवस्थामा छन् । प्रचण्डले तत्कालिन माओवादीका ५३ सीटमध्ये ३५ सीट मात्रै आँफुसँग इन्ट्याक्ट राखेका छन् , तर नेपालले भने तत्कालिन एमालेमा आफ्नो पक्षका जति सांसद थिए त्यसमा पनि २०–२५ जना थपेका छन् ।




