काठमाडौं । सुरक्षा निकायमा कार्यरत धेरैलाई कोरोना संक्रमण देखिएझै कति जना निजामित कर्मचारीलाई संक्रमण भयो भन्ने बारेमा सरकारसँग कुनै तथ्यांक राखेको छैन । मुख्य सचिव शंकरदास बैरागीले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए झै अन्य कर्मचारीहरुले त्यसरी जानकारी नदिदा कति जना कर्मचारीलाई संक्रमण भयो भन्ने बारेमा तथ्यांक नभएको हो । सरकारसँग कति कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ भन्ने कुनै तथ्यांक छैन ।
कुनै पनि कर्मचारीले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनै पर्छ भन्ने पनि छैन । कोरोना संक्रमण पुष्टि भएका कर्मचारीले पनि आफूलाई कोरोना संक्रमण भएको जानकारी नदिइ बिदामा बस्दा त्यस्तो तथ्यांक राख्न संभव नभएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय स्रोतले जनाएको छ ।
‘अहिले कति कर्मचारीमा कोरोना संक्रमण पुष्टि भयो भन्ने सरकारसँग कुनै तथ्यांक छैन,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जनायो । कोरोना लागेको विषय जानकारी गराएमात्रै थाहा हुने हो, कसैले जानकारी दिन नचाहे उनीहरुले गोपनीयताको हक अनुसार जानकारी नदिन पनि आउने भएकाले तथ्यांक राख्न अप्ठ्यरो भएको मन्त्रालय स्रोतको दावी छ ।
सरकारसँग कति कर्मचारी कोरोना प्रभावित छन् भन्ने कुनै जानकारी नभएपनि कर्मचारीको अभावमा काम प्रभावित भएको छ । कोही कन्टाक ट्रेसिङमा परेर विदामा बसेका छन् भने केही कर्मचारी आफैं संक्रमित भएर विदामा बसेका छन् । धेरै कर्मचारी विदामा हुँदा सरकारी काम प्रभावित भएको हो ।
यसअघि दशैं विदा भएका कारण पनि अहिले धेरै कर्मचारी कार्यलयमा हाजिर भइसकेका छैनन । विशेष गरी काठमाडौं उपत्यका बाहिर घर हुने कर्मचारी काठमाडौं फर्किन केही समय लाग्ने देखिन्छ, जसले गर्दा काम झन प्रभावित भएको हो । आफूलाई कोरोना संक्रमण पुष्टिको सार्वजनिक जानकारी गराउने कर्मचारीको समेत तथ्यांक राखेको छैन । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या उल्लेख्य वृद्धि भइरहँदा कर्मचारी पनि संक्रमित हुने दर बढिरहेको छ ।
नेपालमा हालसम्म १ लाख ६२ हजार ३५४ जना संक्रमित भएका छन् भने १ लाख २१ हजार८ सय २४ जना निको भएको छन् । हालसम्म ९ सय २० जनाको मृत्यु भइसकेको छ।
काठमाडौंमा मात्रै ५७ हजार दुई सय जना संक्रमित भएका छन् । ललितपुरमा ८ हजार ५२ र भक्तपुरमा ५ हजार ३ सय ९३ जना संक्रमित भएका छन् । दशैविदापछि सरकारी कार्यालय खुलेपनि कर्मचारीहरु कार्यालयमा नहुँदा सरकारी काम प्रभावित भैरहेका छन् । सरकारले सबै कर्मचारीलाई जबजस्ती गरेर काम लगाउन सकिरहेको छैन ।




